रौतहट, २७ माघ । रौतहटको देवाही गोनाही नगरपालिकाको टिकुलिया स्थित खेतमा घाँस काट्ने विषयमा सुरु भएको सामान्य विवादले उग्र रूप लिएर सामूहिक रुपमा हिंसक झड्पमा परेर तीन जना महिला गम्भीर घाइते भएकी छन् ।
सोमबार राति वडा नम्बर ५, टीकुलिया गाउँमा भएको कुटपिटमा महेश तिवारीकी २५ वर्षीया छोरी अस्मिता तिवारी, १५ वर्षीया सुस्मिता तिवारी तथा छिमेकी बच्चेलाल मुखिया बिनको ४० बर्षीया श्रीमती अनतिया बिन गम्भीर घाइते भएकी हुन् ।
पारिवारिक स्रोतका अनुसार अनतिया बिनको टाउकोमा गम्भीर चोट लागेको छ भने अस्मिता र सुस्मिताको शरीरका विभिन्न भागमा चोटपटक लागेपछि गम्भीर घाइते भइन । तीनै जनालाई घटनालगत्तै एम्बुलेन्सबाट बारा जिल्लाको कलैया स्थित ए प्लस अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार तीनै जनालाई आईसीयूमा राखेर उपचार भइरहेको तथा अवस्था क्रमशः सुधारोन्मुख रहेको छ ।
घटनामा संलग्न रहेको आरोपमा स्थानीय शंकर राय यादवका ४० वर्षीय छोरा शम्भु राय यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनी हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको बुझिन आएको हो ।
घटना विवरणः
प्रहरीका अनुसार विवादको मुख्य जरो आइतबारको घटनासँग जोडिएको छ । महेश तिवारीको तोरीबारीमा शंकर राय यादवको घरका महिलाहरूले घाँस काटेको विषयमा सोमबार साँझ अस्मिता तिवारीले गुनासो गरेपछि दुवै पक्षबीच भनाभन भएको थियो । सोही विवाद पछि हिंसात्मक झडपको रूप लिएको प्रहरीको भनाइ छ ।
शंकर, उनका छोरा शम्भु र परिवारका अन्य सदस्यहरू तिवारीको घरमा प्रवेश गरी कुटपिट गर्दै महिला माथि साँघातिक हमला गरेका थिए । झगडा छुट्याउन पुगेकी छिमेकी अनतिया बिनसमेत आक्रमणको शिकार बन्न पुगिन ।
घटनामा सलंग्न मुख्य दोषि शंकर फरार भएको छ । उनी बिरामीको बहाना बनाएर उपचार गराइरहेको भन्ने सूचना प्राप्त भएको श्रोतले बतायो ।
प्रहरीको प्रतिबद्धताः
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं एसपी सीताराम रिजालले घटना वारे गहन एवं सुक्ष्म अनुसन्धान भईरहेको जानकारी दिदै चाँडै आरोपितहरुलाई नियन्त्रणमा लिएर कानुन बमोजिम कारवाही गर्न प्रतिबद्धता जनाए ।