रौतहट, १ फागुन । नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विगतमा आफूले सके सम्मको काम गरेको दाबी गरे ।
आफूले व्यवस्थित सडक, पुल, शिक्षा, स्वास्थ्य देखि कृषि र खानेपानी सम्मको पूर्वाधार सहितका विकासमा आफूबाट भएका योगदान दिएको दाबी गरेको हो ।
सम्पन्न गरिएका विकास निर्माणका कामहरू यतिबेला स्थानीय तहमा चर्चा र चासोको विषय बन्दै गएका छन् । क्षेत्रको समग्र विकासलाई केन्द्रमा राख्दै आफ्नो कार्यकालमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, यातायात तथा खानेपानी जस्ता आधारभूत क्षेत्रमा उल्लेखनीय पहल गरेको बताए ।
झाझ पुल, जेठरहिया, मलनिया, मिठुअवा र जयनगरमा फलामे पुल निर्माण गरिनुका साथै बागमती नदीमा तटबन्धन निर्माण गराए । गौर–चन्द्रनिगाहपुर सडकलाई चार लेनमा विस्तार गरिँदा यातायात सहज बनेको छ भने गौर–पीप्रा सडक पूर्णरूपमा कालोपत्रे गरिएको दाबी गरे ।
गौर र राजदेवि नगरपालिकामा ५१ किलोमिटर सडक शिलान्यास गरी कालोपत्रे सम्पन्न गरिएको छ । सुकदेवचौक–पीप्रा सडक खण्ड अन्तर्गत झाँझ नदीमा पक्की पुल निर्माण गरिएको छ भने जयनगर–धरमपुर सडकमा पनि पुल तथा सडक निर्माणका लागि बजेट सुनिश्चित गरिएको बताए । गौरमा नेपाल–भारत सीमा पुल निर्माणले अन्तरदेशीय आवतजावत थप सहज बनाए ।
गंगापिपरा स्थित सरस्वती उच्च माध्यमिक विद्यालयको भवन निर्माण, गौर–२ मा टाउन हल, गौर–४ मा विवाह मण्डप तथा झोलुङ्गे पुल निर्माण गरिएको छ । साथै राजर्शी जनक विश्वविद्यालय अन्तर्गत गौरमा पण्डित मंगल कुमार उपाध्याय प्राविधिक कलेज स्थापना गरिएको छ भने राजदेविमा नर्सिङ कलेज स्थापना गरी सञ्चालन आफूले गराएको दाबी गरे ।
गौरमा कोल्ड स्टोर निर्माण, कृषि सेवा शिक्षण केन्द्र स्थापना तथा गौर र राजदेवि नगरपालिकामा कृषि एम्बुलेन्सको व्यवस्था गरिएको छ । गौरमा वरहवा ताल निर्माणका लागि बजेट व्यवस्था गरिँदा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीयवासीहरूका अनुसार यी योजनाहरूले रौतहट–१ को भौतिक तथा सामाजिक विकासमा दीर्घकालीन प्रभाव पारेका छन् । सम्पन्न भएका सयौं योजनामध्ये यी केही प्रमुख उपलब्धिहरू मात्र भएको बताए । त्यसैले फागुन २१ मा हुने निर्वाचनमा तारा चुनाव चिन्हमा मतदान गरेर आफूलाई जिताउन मतदाताहरु संग आग्रह गरिएको छ ।