रौतहट, २ फागुन । रौतहट सदरमुकाम गौरमा रहेका करदाता सेवा कार्यालय सिमरा सार्ने सरकारी तयारी विरुद्ध व्यापारीहरुले सुरु गरेको आन्दोलनको शनिवार दोस्रो दिन पनि बजार बन्द रहयो ।
करदाता सेवा कार्यालयलाई सिमरा स्थित आन्तरिक राजस्व कार्यालयमा गाभ्ने तयारीको विरोधमा उत्रिएका व्यापारीहरु गौर बजार आज पूर्ण रूपमा बन्द गरेर सडकमा प्रदर्शन गरिरहेका हुन् ।
आज बिहानै देखि गौरका मुख्य चोक–चोकमा प्रदर्शन गरिएको छ । घण्टाघर दुर्गा चोक, कविर चोक र भन्सार एरिया लगायत स्थानहरुमा टायर बालेर नाराबाजी गरियो । बजारका सम्पूर्ण पसल बन्द हुँदा जिल्ला सदरमुकाम सुनसान बनेका छन् ।
राज्यबाट कार्यालयलाई सिमरास्थित आन्तरिक राजस्व कार्यालय सिमरामा गाभ्ने तयारी गरेको खबर सार्वजनिक भएपछि स्थानीय व्यवसायी आन्दोलित भएको छ । गौरको केन्द्रभागमा आफ्नै भवनबाट सञ्चालन हुँदै आएको कार्यालय चुपचाप सार्न खोजिएको भन्दै व्यापारीहरूले कडा आपत्ति जनाए ।
शुक्रबार कार्यालयका सामग्री बोकेको ट्रक बजारबाट बाहिर लैजान खोज्दा रौतहट उद्योग वाणिज्य संघका महासचिव सन्तोष केसरी लगायतका पदाधिकारी सहित स्थानीय व्यापारीहरू, समाजका अगुवा र राजनीतिक दलहरु ट्रक अगाडि धर्नामा बसेका थिए । स्थिति तनावपूर्ण बनेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । अन्ततः चर्को विरोध पछि ट्रकबाट सामान अनलोड गरियो ।
संघका महासचिव केसरीले निर्वाचनको मुखमा कार्यालय सार्ने प्रयासप्रति आपत्ति जनाउँदै पूर्वजानकारी बिना गरिएको कदम अस्वीकार्य भएका बताए । “गौरबाट सेवा हटाउने निर्णय तत्काल फिर्ता लिनुपर्छ,” उनले चेतावनी दिए ।
त्यस्तै नेपाली काँग्रेसका युवा नेता नितेशकुमार गुप्ताले गौरमै करदाता सेवा कार्यालय पूर्ण क्षमताका साथ सञ्चालन हुनुपर्ने माग गरे । कार्यालय सारिए सेवाग्राहीलाई अनावश्यक सास्ती हुने उनको तर्क छ ।
जिल्ला प्रहरी रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले व्यापारीहरूको शान्तिपूर्ण रूपमा बजार बन्द गरी प्रदर्शन गरिरहेको बताए । प्रशासनले अवस्था सामान्य बनाउन तथा बन्द कार्यक्रमलाई फिर्ता लिएर समन्वयत्मक कार्यहरु गर्ने सम्बन्धी आवश्यक पहल भईरहेको बताए ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले आन्तरिक राजस्व कार्यालय पथलैयाको विषयमा समन्वय अभावका कारण विवाद चर्किएको स्वीकार गरे । उनका अनुसार यसअघि कार्यालय सार्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने सहमति भए पनि निर्वाचनको मुखमा ट्रक पठाइनु उपयुक्त नभएको बताए ।
समस्या समाधानका लागि आज आन्तरिक राजस्व कार्यालय पथलैयाका प्रमुखलाई बोलाइएको र उद्योग वाणिज्य संघ, स्थानीय व्यापारी, सुरक्षा निकाय तथा सर्वदलीय प्रतिनिधि सहित बैठक बस्ने तयारी रहेको जनाइएको छ ।
अहिले गौर बजार पूर्ण रूपमा बन्द रहेको छ भने भन्सार कार्यालय अगाडिको ढाँट खुला रहेको भएपनि व्यापारिक चहलपहल नहुँदा आज गौर सुनसान बनेका छन् ।