खोलामा उत्खनन गरिरहेको मेशिन र ट्रेक्टर नियन्त्रणमा लिएपछि इप्रका देवाही गोनाही घेराउ गरी प्रदर्शन
संजय मिश्रा
कटहरिया (रौतहट), १२ पुस । विकास कार्यलाई प्रहरीले नै बाधा अबरोध पुर्याएको आरोप लगाउदै स्थानीय बासिन्दाहरु रौतहटको दवाही गोनाही स्थित इलाका प्रहरी कार्यालयलाई घेराउ गरी प्रदर्शन गरेका छन् ।
देवाही गोनाही नगरपालिकाको उपमेयर परनिया देवी पटेलको नेतृत्वमा आएका आक्रोशित जनताहरु प्रहरीले नै विकास निर्माणको कार्यमा बाधा खडा गरेको भन्दै सोमवार इप्रका देवाही गोनाहीलाई घेराउ गरेका हुन् ।
निवर्तमान संघिय साँसद प्रभु साहको सलाह तथा मौलापुर नगरपालिकाको अगुवाइमा प्रदेश २ मै पहिलो पटक झन्डै ७५ बिगहा जग्गा क्षेत्रफल एकीकरण अर्थात लैण्डपुलिङ गरिएका थिए । लैण्डपुलिङ गरिएको क्षेत्रमा भौतिक संरचना निर्माण गर्न पछिल्लो केहि दिन देखि मौलापुर र गोनाही बीच मा पर्ने लालबकैया नदिको बगरबाट माटो लगेर खाल्टोहरु पुर्ने काम भइरहेको थियो ।
ईलाका प्रहरी कार्यालय देवाही गोनाहिका ईन्सपेक्टर राजन लम्सालले सोमवार विहान ८ बजे समयमा खोलाको बगरबाट बालुवा उत्खनन गर्नमा रोक लगाउदै त्यहाँ प्रयोग भएको जेसिभी २ र ट्रेक्टर चार वटालाई नियन्त्रणमा लिएपछि देवाही गोनाहीको उपमेयर सहित मौलापुरबाट आएका साह साह समर्थक जनताहरु इप्रका घेराउ गरी प्रदर्शन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी बिनोद घिमिरेले जिल्ला अनुगमन समितिको संयोजक एवं जिल्ला समन्वय समितिको अनुरोधमा खोलाको धार परिवर्तन हुने गरी उत्खनन गर्न नमिल्ने भएको हुँदा प्रहरीले आफनो कत्र्तव्य पुरा गरेको बताए । खोलाबाट खोलाजन्य बस्तु निकाल्नु अघि सोको मापदण्ड पुरा गरेर मात्रै उत्खनन गर्नुपर्ने कानुनी प्रावधान रहेको तर कानुनलाई मिचेर कसैले खोलामा जेसिभी मेशिनको प्रयाग गर्न नमिल्ने उनले स्पष्ट पारे ।