रौतहट, ४ फागुन । जिल्ला प्रहरी कार्यालय रौतहटले गत माघ महिनामा सम्पादन गरेका गतिविधिहरूको समग्र विवरण सार्वजनिक गर्दै अपराध नियन्त्रण, राजस्व संकलन र समुदाय–प्रहरी सहकार्यमा उल्लेखनीय प्रगति गरेको जनाएको छ ।
७७ आपराधिक मुद्दा दर्ता, ४१ फरार पक्राउ
जिल्ला प्रहरी कार्यालयद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा माघ महिनाभरीमा ७७ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएको छ । तीमध्ये ज्यानसम्बन्धी ७, आत्महत्या ८, चोरी २ तथा सामाजिक अपराधका २३ मुद्दा भएको हो । बैंकिङ कसुरका १७ मुद्दा दर्ता हुनु आर्थिक अपराधको चुनौती बढ्दो रहेको संकेतका रूपमा विश्लेषण गरिएको छ ।
चालु आर्थिक बर्षमा २८४ वटा साधारण उजुरी दर्ता भएकामा १७३ फछ्र्यौट भइसकेका छन् भने १११ उजुरी माथि कारबाही प्रक्रिया जारी रहेको छ । विभिन्न मुद्दामा संलग्न ४१ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप वस्यालले जानकारी दिए ।
लागूऔषध र भन्सार छली नियन्त्रणमा सक्रियता
लागुऔषध सम्बन्धी कारबाहीमा एक जनालाई पक्राउ गरिएको तथा उनको साथबाट पाँच–पाँच सय पिस डाइजेपाम, फेनारगन र नुरफिन बरामद गरिएको जनाइएको छ ।
सीमावर्ती जिल्लाका रूपमा रौतहटमा अवैध भन्सार छली नियन्त्रणमा विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ । माघ महिनामा ६२ लाख ८९ हजार ९३० रुपैयाँ बराबरका अवैध सामान तथा पाँच वटा सवारी साधन बरामद गरिएको डिएसपी वस्यालले बताए । राजस्व छलीतर्फ ६४ हजार ६५० रुपैयाँ बराबरका सामग्री नियन्त्रणमा लिइएको छ भने प्राकृतिक स्रोत दोहनमा संलग्न दुई सवारी साधनलाई कारबाही गर्दै ६ हजार रुपैयाँ जरिवाना गरियो ।
९२ सवारी दुर्घटना, ५ जनाको ज्यान गयो
माघमा जिल्लाभरीमा ९२ वटा सवारी दुर्घटना भए । दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ७४५ सवारी साधनलाई कारबाही गरी ७ लाख ८२ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरले बताए । दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही रहेको प्रहरीको निष्कर्ष छ ।
समुदाय–प्रहरी साझेदारी र सचेतना
अपराध न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागूऔषध, आत्महत्या तथा महिला हिंसाविरुद्ध ५६ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । १२३ जना प्रहरी परिचालन मार्फत १,२०८ जना लाभान्वित भएका छन् ।
विद्यालय केन्द्रित १५ कार्यक्रम मार्फत आत्महत्या, साइबर अपराध र लैङ्गिक हिंसाविरुद्ध ६५७ विद्यार्थीलाई प्रशिक्षण दिइएको छ ।
झडप नियन्त्रणदेखि डिजिटल सेवा विस्तारसम्म
सरस्वती पूजाको मूर्ति विसर्जनका क्रममा परोहा नगरपालिका–९ रामपुरखापमा उत्पन्न झडप नियन्त्रणका लागि २८३ जना प्रहरी परिचालन गरिएको थियो । स्थिति नियन्त्रणमा लिन ६८ राउन्ड ग्यास सेल प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ । साथै ११ वटा राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन सफलतापूर्वक गरिएको छ ।
सेवाग्राहीको गुनासो सुन्न क्युआर कोड प्रणाली लागु गरिएको छ भने हराएका दुई मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो । कर्मचारीको मनोबल अभिवृद्धिका लागि “प्रहरी अफ द मन्थ” कार्यक्रमलाई निरन्तरता दिइएको प्रहरीले जनाए ।
“प्रो–एक्टिभ पोलिसिङ र सिमानामा २४ सै घण्टा गस्ती परिचालन मार्फत जिल्लाको शान्ति सुरक्षा मजबुत बनाएका छौँ,” प्रवक्ता बस्यालले बताए ।