सर्लाही, १५ फागुन । सर्लाहीको पूर्वाधार कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोदकुमार यादवलाई जागिरकै कारण रिसबाट वैकल्पिक उम्मेदवारद्वारा योजनाबद्ध रुपमा गोली हानेर हत्या गरिएको प्रहरीले खुलासा गरेको छ ।
सर्लाही प्रहरीद्वारा शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सब–इन्जिनियर यादवलाई हत्या गरेको घटनामा संलग्न तिन जनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया सुरु गरेको हो ।
सर्लाही प्रहरी प्रमुख योगेन्द्रकुमार खड्काले जागिर नियुक्ति सम्बन्धी विवाद नै हत्याको मुख्य कारण रहेको प्रारम्भिक अनुसन्धानबाट स्पष्ट भएको छ ।
घटनमा सलंगन महोत्तरी रामगोपालपुर–५ का हाल सर्लाही बरहथवा–९ बस्दै आएका २६ वर्षीय गणेश कुमार महतो, उनका २२ वर्षीय भाइ विजय महतो र २३ वर्षीय चन्द्रकिशोर सिंह कुशवाहालाई नियन्त्रणमा लिएर अनुसन्धान पछि हत्या गरेको कबोल गरेको पत्रकार सम्मेलनमा एसपी खड्काले भने ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत फागुन ३ गते राति करिब ७ः५५ बजे सिराहा जिल्ला सुपीपर नगरपालिका–१ स्थायी घर भई मलङ्गवा–१० मा बस्दै आएका यादवलाई अज्ञात व्यक्तिले फोन गरी घरबाहिर बोलाएका थिए ।
त्यसलगत्तै उनलाई गोली प्रहार गरिएको थियो । गम्भीर घाइते अवस्थामा रहेका यादवलाई प्रादेशिक अस्पताल मलंगवा पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाए । पोस्टमार्टम प्रतिवेदनमा छातीमा लागेको गोलीका कारण ज्यान गएको उल्लेख छ ।
प्रहरी अनुसन्धानका क्रममा घटनास्थलबाट गोलीको खोका १ थान, पेस्तोल १ थान, मोबाइल ३ थान तथा भारतीय नम्बर प्लेटको मोटरसाइकल १ थान बरामद गरिएको प्रहरीले जानकारी दिए ।
एसपी खड्काका अनुसार मृतक यादव प्रदेश लोक सेवा आयोग, मधेश प्रदेशबाट सहायक पाँचौ तह सब–इन्जिनियर पदमा मुख्य उम्मेदवारका रूपमा सिफारिस भई नियुक्त भएका थिए । प्रतिस्पर्धामा सहभागी गणेश कुमार महतो वैकल्पिक उम्मेदवार रहेको र नियुक्ति प्रक्रिया तथा स्थायी जागिरको सम्भावनालाई लिएर विवाद चर्किएको खुलेको छ । यही विषयलाई लिएर योजनाबद्ध रूपमा हत्या गराइएको प्रहरीको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
घटनाको भोलिपल्ट सर्लाही जिल्ला अदालत सहित विभिन्न कार्यालयका कर्मचारीले पेनडाउन गर्दै विरोध जनाएका थिए । जटिल बन्दै गएको घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान, प्राविधिक विश्लेषण र इन्टेलिजेन्स परिचालन मार्फत तथ्य बाहिर ल्याउन सफल भएको उनले बताए ।
पक्राउ परेका तिनै जना विरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको एसपी खड्काले भने ।