रौतहट, १५ फागुन । आसन्न प्रतिनिधिसभा निर्वाचन आउन अब केवल छ दिन बाँकी रहँदा रौतहट निर्वाचन क्षेत्र नं. ३ मा चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको छ ।
यसै क्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार पुनम यादव को पक्षमा बढ्दो जनसमर्थन र सम्भावित बहुमत देखेर विपक्षीहरू आत्तिएको राजनीतिक वृत्तको विश्लेषण हो ।
स्थानीय तहमा भइरहेको जनसम्पर्क, विकास एजेन्डामा आधारित बहस र मतदाताको सकारात्मक प्रतिक्रियापछि विपक्षी पक्षले योजनाबद्ध रूपमा भ्रामक सूचना र अफवाह फैलाउन थालेको यादवको आरोप छ । उनका अनुसार गाउँ–गाउँमा दलाल परिचालन गरी उम्मेदवारी फिर्ता भइसकेको, केन्द्रबाट सम्झौता भएको जस्ता निराधार हल्ला फैलाइँदैछ, जसको उद्देश्य विकासका मुद्दालाई ओझेल पार्नु र मतदातालाई भ्रममा पार्नु हो ।
सार्वजनिक प्रतिक्रिया दिँदै यादवले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि आधुनिकीकरण, सडक तथा खानेपानीजस्ता आधारभूत विकासका मुद्दा नै आफ्नो प्रमुख चुनावी एजेन्डा भएको बताइन् । “जनताले विकास र सुशासन खोजिरहेका छन्, तर केही शक्तिहरू विकासको बहसबाट डराएर अफवाहको राजनीति गरिरहेका छन्,” उनले भनिन् ।
उनले आफू हत्यारा, भ्रष्टाचारी, तानाशाह, लुटेरा तथा परिवारवादसँग कुनै पनि अवस्थामा सम्झौता नगर्ने स्पष्ट गर्दै स्वच्छ राजनीति र पारदर्शी विकास नै आफ्नो मूल प्रतिबद्धता भएको दोहोर्याइन् । “मेरो उम्मेदवारी खारेज भयो भन्ने प्रचार पूर्ण रूपमा झुटो हो,” उनले दृढतापूर्वक भनिन्, “यो विकास रोक्ने षड्यन्त्र हो ।”
यादवले रौतहट–३ का मतदाता, बुद्धिजीवी र नागरिक समाजलाई तथ्यमा आधारित निर्णय लिन आग्रह गर्दै गलत सूचनाबाट सचेत रहन अपिल गरिन् । नेपाल कम्युनिस्ट पार्टी को केन्द्रीय निर्णयअनुसार आफ्नो उम्मेदवारी कानुनी र वैध रूपमा कायम रहेको उल्लेख गर्दै उनले निर्वाचन आयोगको नियम, आचारसंहिता र लोकतान्त्रिक मूल्य–मान्यताको पूर्ण सम्मान गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएको बताइन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार विकासमुखी एजेन्डाले जनताको ध्यान तान्न थालेपछि विपक्षी पक्षले नकारात्मक प्रचारको बाटो रोज्नु नयाँ कुरा होइन। तर यस्तो रणनीतिले दीर्घकालमा मतदाताको विश्वास गुमाउने जोखिम रहने उनीहरूको निष्कर्ष छ ।
विकासको स्पष्ट खाका, खुला बहसको चुनौती र जनताको बढ्दो समर्थनका कारण रौतहट–३ को चुनाव अब व्यक्तित्व र अफवाहभन्दा माथि उठेर विकास र सुशासनको जनमत परीक्षण बन्दै गएको देखिन्छ ।