रौतहट, २१ फागुन । मधेश प्रदेशका दुई महत्वपूर्ण जिल्ला रौतहट र सर्लाहीमा रहेका चार–चार वटै निर्वाचन क्षेत्रमा छिटफुट घटनाबाहेक समग्रमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
सुरक्षा व्यवस्थाको कडाइ र मतदाताको उच्च सहभागिताले निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाएको निर्वाचन अधिकारीहरूले बताएका हुन् ।
रौतहटका चार वटै निर्वाचन क्षेत्रमा बिहानै देखि मतदाताको बाक्लो उपस्थिति देखिएको थियो । ग्रामीण भेगदेखि नगर क्षेत्रसम्म मतदाता लाइनमा उभिएर उत्साहपूर्वक मतदान गरेका थिए । केही स्थानमा सामान्य विवाद र प्राविधिक समस्या देखिए पनि तत्काल समाधान गरी मतदान प्रक्रिया निरन्तर अघि बढाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाए ।
यस्तै सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा पनि समग्र वातावरण शान्तिपूर्ण रह्यो । सुरक्षा निकायको सक्रियता र राजनीतिक दलका प्रतिनिधिहरूबीचको समन्वयका कारण कुनै गम्भीर अवरोध बिना मतदान सम्पन्न भएको सर्लाही प्रशासनले जनाए ।
बलरा नगरपालिकाको जब्दी प्रावि मतदान केन्द्रमा रास्वपा र काँग्रेस कार्यकर्ताहरु विच ढुंगामुढा भएपछि केहि वेर सम्म मतदान अवरुद्ध भएपनि दुबै पक्षबीच समहती गराएर पुनः मतदान सुचारु भएका थिए । त्यस्तै हथियौल र धनकौलमा पनि सामान्य बादविवादहरु भएपछि खासै अवरोध भएन ।
रौतहट जिल्ला र सर्लाही जिल्ला मा तोकिएका संवेदनशील र अतिसंवेदनशील मतदान केन्द्रहरूमा समेत विशेष सुरक्षा प्रबन्ध मिलाइएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त परिचालनले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाएको थियो ।
जिल्ला निर्वाचन कार्यालयल रौतहटका प्रमुख छोटेलाल दासका अनुसार मतदाताको सहभागिता उत्साहजनक रह्यो र अधिकांश केन्द्रमा निर्धारित समय सम्म नै मतदान जारी रह्यो । समग्रमा शान्तिपूर्ण, व्यवस्थित र निष्पक्ष वातावरणमा मतदान सम्पन्न भएको उनले बताए ।
निर्वाचन कार्यालयबाट प्राप्त जानकारी अनुसार रौतहटमा मतदानको प्रतिशत करिव ५८ देखि ६० प्रतिशत सम्म भएको तथा सर्लाहीमा पनि ५५ देखि ५८ प्रतिशत सम्म खसेको बताइएको छ । फाइनल रिपोर्ट आउन अझै केही समय पर्खिनुपर्ने रौतहटका निर्वाचन अधिकारी दासले स्पष्ट पारे ।