एसके मिश्रा
रौतहट, २६ फागुन । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा दुई महिला सहित ६ जनामाथि सामूहिक आक्रमण भएको घटना सार्वजनिक भएका छन् ।
उक्त आक्रमणमा परेर २ महिला सहित ६ जना दलित समुदायका मानिसहरु घाइते भएको छ भने उक्तघटनालाई ढाकछोप गर्नमा स्थानीय प्रहरीको भूमिका माथि गम्भीर प्रश्न उठेका हुन् ।
उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुको सट्टा प्रहरीले उल्टै पीडितलाई नै पक्राउ गरेर अन्याय गरेको आरोप लगाए । इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवको कार्यशैली प्रति स्थानीयले तीव्र असन्तुष्टि पोखेका छन् ।
यो घटना फागुन १९ गते होली पर्वको पूर्वसन्ध्या तथा प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा दुई दिनअघि भएको बताइएको छ । घटनाको एक साता वितिसक्दा पनि प्रहरीले कुनै ठोस कारबाही नगरेपछि पीडित पक्षले पत्रकार सम्मेलन गरेर घटनालाई सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनमा पीडित बिर्जा राम चमारले सामान्य विवादपछि स्थानीय भुनेश्वर यादव, पसिन्द्र यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादव सहितको समूहद्वारा लाठी–भाटा लिएर साँझ करिब ६ बजे घरमै प्रवेश गरी कुटपिट गरेको आरोप लगाए ।
उनका अनुसार यादव समूहले घरभित्र पसेर श्रीमती र छोरी सहित ६ जनालाई मरणासन्न हुने गरी कुटपिट गर्नुका साथै घरका सामान तोडफोड गरेको र घरमा रहेका दुईवटा मोबाइल समेत फोडिदिएको छ ।
कुटपिटबाट ५५ वर्षीय बिर्जा राम चमारको ढाड र घाँटीमा चोट लागेको छ भने उनकी श्रीमती ५० वर्षीया गायत्री देवी रामको शरीरभरी निलडाम देखिएको पत्रकार सम्मेलनमै देखाइयो ।
त्यस्तै उनका छोरा राजकुमार रामको टाउकोमा तीन टाँका लागेको छ भने सुब्बा रामकी १६ वर्षीया छोरीको टाउको फुटेर ७ टाँका लागेको पीडित पक्षले जनाए । ललन राम चमारको अनुहार तथा शरीरभरी निलडाम देखिएको छ भने नरेश राम चमारको टाउको, आँखा तथा शरीरका विभिन्न भागमा चोट लागेको बताए ।
पीडित परिवारले घटनाको सुरुआत फागुन १९ गते साँझ करिब ५ बजे दुई पक्षबीच सामान्य भनाभनबाट भएको थियो । सो क्रममा विपक्षी समूहले बिर्जा रामका छोरा राजकुमार रामलाई घरभन्दा केही पर कुटपिट गरेका थिए । प्रतिवाद गर्दा विपक्षी पक्षका एकजनाको टाउको सामान्य रूपमा फुटेको बताइएको छ । त्यसको करिब एक घण्टापछि विपक्षीहरू लाठी–भाटा लिएर घरमै प्रवेश गरी सामूहिक आक्रमण गरेको पीडितले बताए ।
घटनापछि इलाका प्रहरी कार्यालय सन्तपुरबाट आएको प्रहरी टोलीले आक्रमणकारीलाई पक्राउ गर्नुको सट्टा बिर्जा राम र उनका छोरालाई नै पक्राउ गरी हथकडी लगाएर लगे । उनीहरूलाई थुनामा राखेर कुटपिटसमेत गर्दै इलाका प्रहरी कार्यालय विजयपुर पठाइएको पीडित पक्षको दाबी छ ।
स्थानीय समाजसेवी विजय यादवका अनुसार पीडितलाई नै पक्राउ गरिएको थाहा पाएपछि उनले प्रहरी निरीक्षक सुरेन्द्र यादवलाई फोन गरेर छाड्न आग्रह समेत गरे ।
“तर उहाँले कुरा नसुनेपछि मैले रौतहटका प्रहरी प्रमुख एसपीलाई फोन गरे, त्यसपछि मात्रै बिर्जा राम र उनका छोरालाई छाडिएको हो,” उनले बताए ।
पीडितका अनुसार घटनाको एक सातासम्म पनि जाहेरी दर्ता गरिएको छैन । आइतबार र सोमबार इलाका प्रहरी कार्यालय विजयपुर पुगेर जाहेरी दर्ता गर्न आग्रह गर्दा इन्स्पेक्टर यादवले वास्ता नगरेको र उल्टै थर्काउने गरेको आरोप लगाए ।
पत्रकार सम्मेलनमा पीडित बिर्जा राम चमारले आँसु झार्दै आफूहरू माथि चरम यातना दिनेहरुलाई कारवाही गरी आफूलाई न्याय दिलाइदिन आग्रह गरे ।
यता इन्स्पेक्टर यादवले भने विपक्षी पक्षका एकजनाको टाउको फुटेको र निर्वाचनको संवेदनशीलता भएकाले उनीहरूलाई पक्राउ गरिएको बताए । पछि बिर्जाको परिवारका सदस्यहरू पनि घाइते भएको जानकारी पाएपछि सोही रात जिम्मा–जमानिमा बाबु–छोरालाई छाडिएको छ ।
निर्वाचनका कारण कारबाही प्रक्रियामा केही ढिलाइ भएको स्वीकार गर्दै घटनाबारे छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाए ।
उता जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिताराम रिजालले घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएको बताए ।
“पीडितले न्याय पाउनेछन् र दोषीलाई कारबाही हुनेछ,” उनले बताए । यसैबीच स्थानीयले इन्स्पेक्टर यादव इलाका प्रहरी कार्यालय विजयपुरको प्रमुख भएर आएपछि क्षेत्रमा अराजकता बढेको गुनासो गरे । केही समयअघि उनको मिलेमतोमा लाखौं रुपैयाँको कौडा जुवा खेलाइएको आरोप समेत लागेको छ ।
स्थानीयका अनुसार उनको कार्यकालमा साना घटनालाई ठूलो बनाउँदै आर्थिक चलखेल हुने गरेको र विभिन्न राजनीतिक प्रभावका कारण दलित परिवारसहित दर्जनौ पीडित न्यायबाट वञ्चित हुँदै आएको गुनासो बढ्दै गएको छ ।
दलित परिवार माथि आक्रमण पछि घाइते अवस्थामा रहेकाहरु अस्पतालमा उपचार गराउदै ।