नेपालमा तस्करीको माध्यमबाट भित्रयाउन सिमावर्ती क्षेत्रमा राखिएको एसएसबीद्धारा बरामद गरिएका काँचो केराको कार्टुनहरु
रौतहट, ३ चैत । रौतहट–बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट नेपालतर्फ तस्करीको माध्यमबाट ल्याउन लागिएको ठूलो परिमाणको १८६० कार्टुन काँचो केरा एसएसबीले बरामद गरी तस्करीको प्रयासलाई विफल पारिदिएको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ७१ औँ बटालियनको इन्टेलिजेन्स सेटअपबाट प्राप्त सूचनाका आधारमा आईएनबी सीमा स्तम्भ नम्बर ३५६–३ नजिक पिठवा गाउँ क्षेत्रमा सोमबार राति करिब साढे ९ बजे संयुक्त सुरक्षा टोलीले विशेष अपरेशन सञ्चालन गरेर तस्करीको ठूलो खेपलाई विफल पारिदिएको हो ।
एसएसबीको जमुनिया क्याम्पका टोलीले झरोखर प्रहरी चौकीसँग समन्वय गरी सीमाक्षेत्रमा निगरानी बढाउदा केही व्यक्तिहरू टाउकोमा कार्टुन बोकेर तथा मोटरसाइकल प्रयोग गरी भारतबाट नेपालतर्फ सामान ओसार्दै गरेको देखिएका थिए ।
सुरक्षा टोलीले उनीहरूलाई रोक्न खोजेपछि ती व्यक्तिहरूले बोकेका कार्टुनहरू बाटोमै फालेर फरार भए । त्यसपछि गरिएको खोजतलासका क्रममा विभिन्न स्थानमा काँचो केराले भरिएका कार्टुनहरू फेला परेका थिए । खोजी कार्यको क्रममा ४३ वटा कार्टुन बरामद गरिएको बताइएको छ र
उक्त टोलीले थप खोजी गर्ने क्रममा पिठवा गाउँ स्थित एउटा आँपको बगैंचाबाट ठूलो परिमाणमा कार्टुन फेला परेको भारतीय सुरक्षा स्रोतले जनाए । त्यसैगरी सोही गाउँको बन्सवाडी क्षेत्रमा त्रिपालले छोपेर लुकाइराखिएको अवस्थामा राखिएका कार्टुन भेटिएका थिए ।
बरामद गरिएको कार्टुनको स्वामित्वबारे स्थानीय स्तरमा खोजी गरिए पनि कसैले पनि आफ्नो भएको दाबी नगरेको बताइएको छ ।
एसएसबी ७१ औँ बटालियन मुख्यालय पिपराकोठिका सहायक कमाण्डेन्ट विश्वजित तिवारीका अनुसार आँपको बगैंचाबाट ७०७ कार्टुन र बन्सवाडी क्षेत्रबाट १११० कार्टुन गरी कुल १८६० कार्टुन काँचो केरा बरामद गरिएको छ । प्रत्येक कार्टुनको तौल करिब १३.५ किलोग्राम रहेको उनले बताए ।
बरामद गरिएको काँचो केरा छिट्टै नासिने प्रकृतिको खाद्यवस्तु भएकाले यसबारे उच्च अधिकारीहरूलाई जानकारी गराइएको र आवश्यक कानुनी कारबाहीका लागि झरोखर प्रहरी चौकीलाई जिम्मा लगाइएको एसएसबी श्रोतले बतायो ।
उक्त केरा नेपालमा तस्करीको माध्यमबाट भित्रयाएर काठमाडौं सहितका सहर तर्फ पठाउने लक्ष्य सहित सिमावर्ती क्षेत्रमा राखिएका उक्त काँचो केराको तस्करी कार्यलाई एसएसबीले विफल बनाउदा तस्करलाई ठूलो घाटा लागेको बताइएको छ ।