रौतहट, ९ चैत । रौतहटको कटहरिया नगरपालिका–८ पिप्रापोखरियामा सापटी रकमको विवादले भयावह रूप लिँदा आमा–छोरीमाथि निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएका छन् ।
नातामा पर्ने देवरलाई दिएको सापटी रकम माग्न जाँदा आमाछोरी सहित घरपालुवा पशु चौपाया समेतलाई क्रूर रूपमा यातना दिइएको घटना यतिखेर सार्वजनिक भएका हुन् ।
पिप्रापोखरिया गाउँका ४५ वर्षीया भागमणी देवीमाथि उनका नातामा पर्ने ३५ वर्षीय देवर छोटेलाल यादवले आक्रमण गरेको छ । केही महिना अघि लिएको १ लाख २० हजार रुपैयाँ फिर्ता गर्ने विषयमा विवाद चर्किदा उक्त घटना भएको बताइएको हो ।
हिजो आइतबार ई–सेवा मार्फत आएको १० हजार रुपैयाँ लिन आएका छोटेलाल सँग भागमणीले बाँकी १ लाख १० हजार रुपैयाँ दिन आग्रह गरेपछि झगडा भएको थियो । त्यसपछि आक्रोशित छोटेलालले बाँसको लौरो प्रयोग गरी भागमणी र उनकी १० वर्षीया छोरी रबिता कुमारी माथि अन्धाधुन्ध कुटपिट गरेका थिए ।
निर्घात कुटाइबाट बालिका रबिताको देब्रे हात भाँचिएको छ भने भागमणीको हातमा गम्भीर चोट लागेको पिडितले बताइन् । उनको निर्घात कुटपिटबाट आमाछोरीका शरीरभरी निलडाम देखिएको छ ।
घटनाको क्रूरताले त्यतिमै सीमित नरही आक्रमणकारीले भैंसी र बाख्रालाई समेत कुटपिट गरी मर्नासन्न बनाएको पीडित पक्षले गम्भीर आरोप लगाए ।
घटनापछि भागमणीका बुवा झगरु यादव घाइते आमा–छोरीलाई तत्काल कटहरिया बजारस्थित निजी अस्पतालमा उपचारका लागि लगेका थिए । दुवैको प्लास्टरसहित उपचार भइरहेको छ ।
घटनालाई सामसुम पार्न एवं डरत्रास देखाउन पिडकले पीडित पक्षलाई गाउँकै एक जनप्रतिनिधिबाट उजुरी नगर्न दबाब र धम्की आएको दिइरहेको पिडित भाग्यमणीले बताइन् । “उजुरी नगर्नु, घटनालाई गाउँमै मिलाइदिन्छु” भन्दै दबाब दिइएको पीडिताले भनिन ।
ईलाका प्रहरी कार्यालय कटहरिया का प्रमुख सई धर्मेन्द्र पौडेलले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
यस घटनाले गाउँस्तरमा हुने आर्थिक विवाद कति हिंसात्मक बन्न सक्छ भन्ने देखाएको छ भने पीडितलाई न्याय दिलाउने सवालमा स्थानीय दबाब र प्रभावको गम्भीर प्रश्न समेत उठाएको छ ।