तस्वीर श्रोतः सशस्त्र प्रहरीको सर्लाही स्थित सग्राम्पुर बसेका सशस्त्र प्रहरी निरीक्षक सुजन रानाभाट र कुख्यात तस्कर सन्तोष भण्डारी बीच तस्करी लाईनको बिषयमा भईंरहेको कुराकानीको गोप्य तस्वीर स्थानीयले तराई टपलाई उपलब्ध गराएको हो । हाल उनलाई गणमा तानेर आवश्यक अनुसन्धान भईरहेका छन् ।
सर्लाही, ९ चैत । सीमाको सुरक्षाको जिम्मेवारी बोकेका सुरक्षाकर्मीनै तस्करीको जालोमा जोडिएको गम्भीर आरोप सार्वजनिक भएपछि सर्लाहीको सीमावर्ती क्षेत्र पुनः विवादमा तानिएको छ ।
तस्कर सन्तोष भण्डारी र सग्राम्पुर बेसका इन्सपेक्टर सुजन रानाभाट बीचको कथित ‘सेटिङ’ को तस्वीर सार्वजनिक भएपछि सुरक्षा संयन्त्र माथि नै प्रश्न उठेको हो ।
सार्वजनिक भएको तस्वीरले इन्सपेक्टर रानाभाट आफ्नो पदिय मर्यादा विपरीत कार्य गर्न तस्करी गिरोहसँग मिलेमतो गरेको आशंकालाई बलियो बनाएको छ । स्थानीय स्रोतका अनुसार तस्कर (कारोवारी) भण्डारीले नेपालबाट चिनियाँ स्याउ, अखरोट, काठ, गिटी, मकै लगायतका सामग्री भारततर्फ पठाउने र भारतबाट कपडा, फूल लगायतका सामान अवैध रूपमा नेपाल भित्रयाउने कार्य लामो समयदेखि सञ्चालन गर्दै आएका छन् ।
सग्राम्पुर, नारायणपुर, सखुअवा र पर्सा लगायतका सीमावर्ती नाकामा भण्डारीको एकछत्र प्रभाव रहेको स्थानीयहरूको कथन रहेको छ ।
इन्सपेक्टर रानाभाटसँगै सखुअवा बेसका सशस्त्र सहायक निरीक्षक (सई) बाबुराम गैरे विरुद्ध समेत गुनासो बढेपछि दुबैलाई केही दिनअघि जिम्मेवारीबाट हटाएर गणमा तानिएको स्रोतले जनाए ।
तर, जिम्मेवारी फेरिए पनि तस्करी भने रोकिएको छैन । हिजो मात्रै भारतीय सीमा सुरक्षा बल एसएसबीले दुईवटा पिकअपमा लोड गरिएको स्याउ बरामद गरी सोनवर्षा कस्टममा बुझाएको घटना यसैको ज्वलन्त उदाहरण हो ।
यस विषयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गणका गणपति तथा एसपी अमर खतीले आफू जिम्मेवारी सम्हाले पछि अवस्थालाई सुधार गर्ने प्रयास गरिरहेको बताए । उनले विवादित बेसका इन्चार्जहरूलाई हटाएर अनुसन्धान अघि बढाइएको र सीमा क्षेत्रमा गस्ती कडा बनाइएको दाबी गरे ।
“हामी सुधारका लागि आएका हौं, सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सक्रिय रहेका छौं,” एसपी खतीले भने । आफू निर्वाचन हुनु अगावै यस जिल्लाको कमाण्ड सम्हालेको हुँदा पहिला के भयो त्यो मलाई थाहा छैन, अहिले के भईरहेको छ त्यस माथि फोकस गरेर सीमा क्षेत्रबाट हुने चुहावटका कार्यहरुलाई नियन्त्रण गर्न आफू अहोरात्र खटिरहेको स्पष्ट पारे ।
यद्यपि, स्थानीयहरू भने अझै पनि रातको समयमा तस्करी निर्बाध रूपमा तस्करी भइरहेको दाबी गर्दै कडा कारबाहीको माग गरे।