रौतहट, १२ चैत । जमीअत उलमाए नेपालले देशव्यापी शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यका सहित ‘शैक्षिक जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।
रौतहटको चन्द्रनिगाहपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत उलमाएले शिक्षाबाट बञ्चित रहेका मुस्लिम समुदायको बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने लक्ष्य सहित अभियान सुरु गर्न लागिएको हो ।
संस्थाका केन्द्रीय अध्यक्ष मोहम्मद खालिद सिद्धकीले मुस्लिम समुदायमा अझै पनि ठूलो वर्ग शिक्षाको पहुँच भन्दा टाढा रहेको बताए । उनीहरूलाई लक्षित गरी जनचेतना अभिवृद्धि, विद्यालय भर्ना दर वृद्धि, विद्यालय छाड्ने दरलाई न्यूनीकरण तथा शिक्षाको गुणस्तरमा सुधार गर्ने मुख्य उद्देश्य रहेको स्पष्ट पारे ।
उनका अनुसार विद्यालय तथा मदरसामा सुधार ल्याउने, विद्यार्थी, अभिभावक र समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने तथा राज्यको शैक्षिक संस्था, नागरिक समाज र सरोकारवालाको सहकार्य मार्फत मात्र अपेक्षित सुधार सम्भव हुने विश्वास व्यक्त गरे ।
“मुस्लिम समुदायको मानव विकास सूचकांक, राजनीतिक पहुँच र आयस्तर निकै कमजोर छ, जसको सुधारका लागि शिक्षामा प्राथमिकता दिन आवश्यक छ,” उनले बताए ।
संस्थाका सचिव मौलाना इजरायलले नेपालको जनगणना २०७८ का अनुसार देशको समग्र साक्षरता दर ७६.२ प्रतिशत रहे पनि मुस्लिम समुदायमा ६१.७ प्रतिशत र मुस्लिम महिलामा करिब ५० प्रतिशत मात्र साक्षरता दर हुनु चिन्ताको बिषय भएको बताए ।
अभियान २०८२ साल चैत १५ गतेदेखि लिएर २०८३ साल वैशाख १५ गतेसम्म सञ्चालन हुने जानकारी दिँदै महासचिव मुफ्ती समिम अख्तरले यस अवधिमा जनचेतना मूलक कार्यक्रम, शैक्षिक अन्तरक्रिया, अभिभावक परामर्श तथा विद्यार्थी प्रेरणा मूलक गतिविधि सञ्चालन गरिने बताए ।
उनले शिक्षानै समाज परिवर्तनको आधार भएको उल्लेख गर्दै अभियानलाई सफल बनाउन सबै सरोकारवाला निकाय, शिक्षक, अभिभावक तथा सञ्चारकर्मीलाई सहकार्यका लागि आह्वान गरे ।
कार्यक्रममा मुस्लिम समुदायका विभिन्न अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।