प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण गर्न पौने ९ अर्बको बोलपत्र, भारतको प्रस्ताव स्वीकृत

   १५ पुष २०७८, बिहीबार ०८:४५  

तराई टप
काठमाडौं, १५ पुस । प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) को भौतिक संरचना बनाउनका लागि भारतीय अनुदानलाई नेपाल सरकारले स्वीकृति प्रदान गरेको छ ।
भारतीय अनुदानमा निर्माण हुने प्रहरी प्रशिक्षण प्रतिष्ठान बनाउने करिव २६ बर्ष अघि भएको सहमती अहिले आएर कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । भारतमा बनेको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) र निर्माण सम्बन्ध बोलपत्रको मस्यौदा नेपाल सरकारले स्वीकृत गरेसंगै निर्माण प्रक्रिया आधिकारिक रुपमा सुरु भएका छन् ।
करिव पौने ९ अर्ब रुपैयाको लागतमा निर्माण गरिने प्रहरी प्रशिक्षण प्रतिष्ठानको भौतिक संरचना सहित आधुनिकिकरण निर्माणको लागि प्रहरी प्रधान कार्यालयले गत बुधवार अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेका छन् ।
भारतले गत नोभेम्बरमा नेपालको सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधान सँग बाझिने गरी बोलपत्रको मस्यौदा बनाएर पठाएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले कानुनी प्रावधान सँग बाझिएका विषय संशोधनका लागि गृह मन्त्रालयले पत्र लेखेको थियो । त्यही पत्रका आधारमा गृह मन्त्रालयले भारतीय प्रस्ताव अनुसार नै एकेडेमी निर्माण गर्ने गरी बोलपत्रको मस्यौदा स्वीकृत गरेको हो ।
पछिल्लो पटक काठमाडौं स्थित भारतीय दूतावासले गत कात्तिक २३ (नोभेम्बर ९) मा पत्र पठाउँदै अन्तरराष्ट्रिय बोलपत्र छिटो आह्वान गर्न प्रहरी प्रधान कार्यालयलाई ताकेता गरेको थियो । दूतावासको पत्रपछि प्रतिष्ठानका कार्यकारी निर्देशक एवं एकेडेमी सम्बन्धी ‘प्रोजेक्ट कोअर्डिनेसन युनिट’ (पीसीयू) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नीरजबहादुर शाहीको अध्यक्षतामा मंसिर ८ मा बैठक बसेको थियो ।
बैठकले यस सम्बन्धी कानुनी अड्चन समाधान गर्न गृह मन्त्रालयलाई राय सहितको पत्र लेखेको थियो । बोलपत्रमा एकेडेमी डिजाइन, खरिद र निर्माण (ईपीसी) मोडलमा १ हजार ९५ दिन अर्थात् ३ वर्ष भित्र सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै