रौतहट, १७ चैत । रौतहटको गढिमाई नगरपालिका–१, समनपुर बजार स्थित इलाका प्रहरी कार्यालयको ५४ वर्षपछि नयाँ स्वरूप पाउने भएका छन् ।
लामो समयदेखि जिर्ण अवस्थामा रहेको भवनलाई प्रतिस्थापन गर्दै अब आधुनिक संरचना निर्माण सुरु गर्न शिलान्यास गरिएका हुन् ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यको विशेष पहलमा गढिमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले ५१ लाख रुपैयाँ विनियोजन गराएपछि भवन निर्माण कार्यले गति लिएको बताइएको छ ।
स्थानीय तहको लगानीमा निर्माण सुरु हुनु आफैंमा एउटा सकारात्मक उदाहरणका रूपमा हेरिएको हो ।
हिजो सोमबार आयोजित एक कार्यक्रम बीच–१ का अध्यक्ष दिपेन्द्र श्रेष्ठ र वडा २ का अध्यक्ष रामपुकार यादवले हिन्दु परम्परा अनुसार पूजा–पाठ गर्दै ८ कोठे भवनको शिलान्यास गरे । निर्माण सम्पन्न भएपछि प्रहरीलाई बसोबास र सेवा प्रवाहमा सहजता आउने विश्वास गरिएको छ ।
डीएसपी आचार्यका अनुसार भवन निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसअघि २०२९ सालमा तत्कालीन प्रहरी महानिरीक्षक खडगजित बरालले उदघाटन गरेको पुरानो भवन अत्यन्त जिर्ण भइसकेको थियो । छत चुहिने, भित्ताहरू चर्किने जस्ता समस्याका बीचमा पनि प्रहरीले जोखिमपूर्ण अवस्थामा सेवा दिँदै आएको थियो ।
प्रजातन्त्र स्थापना पछि जिल्लाका अधिकांश प्रहरी कार्यालयहरू केन्द्र सरकारको बजेटमा निर्माण भइसके पनि समनपुर र कटहरियाका भवन भने जग्गा विवादका कारण पछि परेका थिए । कटहरियामा स्थानीय सहयोगमा अस्थायी भवन बने पनि समनपुरमा भने अवस्था झन् जटिल बन्दै गएको बताइएको छ ।
प्रहरी बसोबासमै जोखिम बढ्दै गएपछि डीएसपी आचार्यले नगर प्रमुखसँग पहल गर्दै बजेट व्यवस्थापन गराएको बताए । “नागरिकको सुरक्षामा खटिने प्रहरी स्वयं असुरक्षित अवस्थामा बस्न बाध्य हुनु हुँदैन,” उनले भने ।
समनपुर नगरपालिकाको लगानीमा सुरु भएको यो निर्माणले अब समनपुर क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । साथै, स्थानीय सरकार र सुरक्षाकर्मी बीचको सहकार्यमा यो उदाहरणले अन्य स्थानलाई पनि प्रेरित गर्ने विश्वास गरिएको छ ।