रौतहट, १८ चैत । असिना पानी र हावाहुरीको कारण रौतहटको बौधीमाई नगरपालिकामा किसानहरुको हिउदे बालीमा ब्यापक क्षति पुर्याएको छ ।
बेमौसमी असिनापानी र हावाहुरीले किसानहरुलाई व्यापक क्षति पुर्याएपछि बौधीमाई नगरपालिकाको नगर प्रमुख प्रदीप यादवको नेतृत्वमा उपनगर प्रमुख सहितका कार्यपालिका सदस्यहरुले प्रधानमन्त्री तथा मुख्यमन्त्रीलाई तत्काल राहत उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको हो ।
प्रजिअ दिनेस सागर भुसाल मार्फत बुझाइएको ज्ञापन पत्रमा नगरपालिकाले यसलाई गम्भीर प्राकृतिक विपत्तिको रुपमा लिएर संघीय र प्रदेश सरकारसँग तत्काल राहत तथा क्षतिपूर्तिको बन्दोबस्त मिलाई किसानहरुलाई राहत उपलब्ध गराउन माग गरिएको छ ।
ज्ञापन पत्र वाचन गर्दै नगर प्रमुख यादवले बौधीमाई नगरपालिकाको सम्पूर्ण वडामा गहुँ, मकै, तोरी, मसुरो, तरकारी तथा आँप, केरा, लिची जस्ता फलफूल खेतीमा ठूलो नोक्सानी भएको छ । यस्ता विपत्तिले किसानहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर पार्नुका साथै खाद्य सुरक्षामा समेत चुनौती थपिएको उनले बताए ।
नगरपालिकाले क्षतिको यथार्थ विवरण संकलन, तत्काल राहत वितरण, उचित क्षतिपूर्ति उपलब्ध गराउने, तथा दीर्घकालीन विपद् व्यवस्थापन योजना लागु गर्न सरकारसँग जोडदार रुपमा माग गरे । बारम्बार हुने प्राकृतिक विपत्तिबाट किसानलाई जोगाउन बाली बीमा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।
चालु आर्थिक वर्षमै पटक–पटक विपत्ति भोगिरहेका यहाँका किसानहरू अझ सम्म राहत नपाएको गुनासो गर्दै नगरप्रमुख यादवले ढिलाइ नगरी ठोस कदम चाल्न सरकार संग आग्रह गरे ।
उक्त ज्ञापन पत्र बुझाउने टोलीमा नगरका उपप्रमुख प्रमिला देवी, ६ वटा वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, महिला सदस्यहरु सहितका पीडित किसानहरुको उपस्थितिमा नगरप्रमुख यादवले ज्ञापन पत्र बुझाए ।
प्रमुख जिल्ला अधिकारी भुसालले असिनापानी र हावाहुरीबाट किसानहरुको भएको हानी नोक्सानी सम्बन्धमा जिल्ला कृषि ज्ञान केन्द्र मार्फत क्षतिको विवरण संकलन गराउने तथा यो ज्ञापन पत्रलाई प्रधानमन्त्री, गृहमन्त्रालय र मुख्यमन्त्री कार्यालयमा आजै पठाउने प्रतिक्रिया दिए ।