सर्वहारा नेताहरुको जिवन शैलीमा आएको परिवर्तन, प्रचण्ड सहित नेताहरुको सम्पत्ती छानविन गर्नुपर्ने माग

   १६ पुष २०७८, शुक्रबार १९:२२  

तराई टप
काठमाडौं, १६ पुस । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनको बन्द सत्रमा अध्यक्ष सहित सम्पूर्ण नेतृत्ववर्गका जिम्मेवार पदाधिकारीहरुको सम्पत्ती छानविन गर्नुपर्ने आवाज उठेको छ ।
काठमाडौंमा जारी रहेको आठौं महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिहरुले नेताहरुको सम्पत्ति छानबिनको गर्नुपर्ने माग गरेको हो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक वैचारिक प्रतिवेदन माथि समूहगत छलफलको निष्कर्षमा विभिन्न टोलीले सम्पत्ति छानविनको विषय उठाए । प्रदेश २ समूहका प्रतिनिधि सत्यनारायण भगतले नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने विषय चर्को रुपमा उठेको बताए ।
जनयुद्ध गरेर आएका नेताहरुको जीवन शैलीमा आएको परिवर्तन र सम्पत्ति वृद्धिको बारेमा टिप्पणी हुने गरेको भन्दै छानबिन गर्नुपर्न निष्कर्ष रहेको उनले जानकारी दिए । गण्डकी प्रदेशबाट गायत्री गुरुङले पनि आफ्नो समूहमा नेताहरुको सम्पत्ति छानबिन र सार्वजनिक गर्न आवश्यक रहेको छलफलका क्रममा कुरा भएको भन्दै यसबारे गम्भीर भएर जाँच गर्न माग गरिन । कर्णाली प्रदेशबाट विमला केसीले पनि नेताहरुको सम्पत्ति सार्वजनिक गरिनुपर्ने माग गरिन् ।
प्रतिनिधिहरुले सम्पत्तिको माग उठाएर नेताहरुलाई घेरेका छन् । पार्टी शुद्धिकरण अभियानका लागि सम्पत्ति छानविन गरेर बढी देखिएको सम्पत्ती पार्टीको नाममा गर्नुपर्ने र आवश्यक कारवाही गर्नुपर्ने उनीहरुले जोडदार रुपमा माग गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै