रौतहट, ३० चैत । गौर भन्सार कार्यालय अगाडीबाट नै तस्करीको खेल जारी रहेको पाइन्छ । आम नागरिकलाई केरकार एवं चेकजाँचको बहानामा अनेकौं झन्झटिलो तर तस्करलाई छुटको खेलाबाट भन्सार प्रमुखको दोहोरो नीति माथि अहिले गम्भीर प्रश्न चिन्ह खडा भएका छन् ।
एकातिर सर्वसाधारण नागरिक माथि कडा चेकजाँच र निगरानी, अर्कोतिर संगठित तस्करी भने निर्वाध रूपमा सञ्चालन—यस्तो विरोधाभासपूर्ण अवस्था अहिले गौर–बैरगनिया सीमा क्षेत्रमा देखिन थालेपछि भन्सार प्रमुख र सुरक्षाकर्मीको भूमिकामाथि गम्भीर प्रश्न उठ्न थालेका हुन् ।
गौर भन्सार कार्यालयदेखि पूर्व तथा लक्ष्मिपुर बेलविछवाबाट पश्चिम क्षेत्र भएर अहिले राजस्व छलीका सामानहरू खुल्लमखुल्ला ओसारपसार भइरहेको स्थानीय स्रोतहरूको दाबी छ । सीमा क्षेत्रका विभिन्न नाकाबाट दैनिक उपभोग्य सामग्री, कपडा, चिनी, कुखुरा, खैनी, स्पेयर पाट्र्स लगायतका वस्तुहरू ठूलो परिमाणमा नेपाल भित्रिने र नेपालबाट मदिरा, फलफूल तथा अन्य सामग्री भारततर्फ पठाइने क्रम जारी रहेको बताइन्छ ।
स्थानीयवासीका अनुसार, यस्तो अवैध कारोबार सुरक्षाकर्मीहरूको मिलेमतो बिना सम्भव नहुने दाबी गरिएको छ । भन्सार प्रमुख सहितका कर्मचारीको मौन समर्थनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले आर्थिक लेनदेनको आधारमा तस्करीलाई “लाइन” दिने गरेको आरोप समेत लागेका छन् ।
स्रोतहरू भन्छन्—मुख्य नाकाबाट सामान ल्याएपछि नजिकैको एक पान पसलमा सुरक्षाकर्मीको भागस्वरूप रकम बुझाउने अभ्यास नै बसेको छ ।
सीमापारि भारतको बैरगनियाबाट सञ्चालन हुने तस्करी सञ्जालमा संलग्न किरन भन्ने एक महिला तस्करको छोराले दिनदहाडै मोटरसाइकलमार्फत कपडा र अन्य सामग्री ओसारपसार गरिरहेका छन् । सीमामा सशस्त्र प्रहरीको उपस्थिति हुँदाहुँदै पनि यस्तो गतिविधि रोकिन नसक्नुले झन् शंका बढाएको ति श्रोतले बताए ।
स्थानीय ति श्रोतले तराई टप लाई उपलब्ध गराएका भिडियो तथा तस्बिरहरूमा केही व्यक्तिहरूले नेपाल लिभरका उत्पादन भएका कष्मेटिक सामानहरु गौर नपा १ का रुपेश दास र राजेश पासवान सहितका कारोवारीहरु सजिलै सीमापारि पुर्याइरहेको देखिएको छ । त्यस्तै, निरज जयसवाल, राधेश्याम साह र जितेन्द्र साह सहितका समूहले संयुक्त रूपमा चिनी, दैनिक उपभोग्यका सामान सहित चप्पल लगायतका सामानहरु ठूलो परिमाणमा आयात–निर्यात गर्दै जिल्लाको विभिन्न स्थानहरुमा पुर्याउने गरिएको बताइएको छ ।
गौर नगरपालिका–२ महादेवपटी क्षेत्रबाट सीमापार बैरगनिया अशोगीका रोशन जयसवाल सहितका कारोवारीहरु रातको समयमा कपडा तस्करी गर्ने गरेको आरोप छ । तर, यस्ता गतिविधि नियन्त्रणमा लिन सुरक्षाकर्मीले चासो नदेखाएको भन्दै स्थानीय आरोप छ ।
यसैगरी बन्जरहा, औरैया, मठिया, महुलिया, सानो घिउरा, खापर, बंकुल लगायतका क्षेत्रबाट केरा, कपडा, सुर्ती, कुखुरा, स्पेयर पाट्स सहित बहुमुल्य सामानहरु नेपाल आउने गरेको तथा खरबुजाको विऊ, अखरोट, मकै, मदिरा सहितका सामानहरु नेपालबाट भारत तर्फ जाने गरेका छन् ।
उक्त कार्यमा यहाँका सुरक्षाका निकाय, युनिट एवं घुमुवाको सेटिंग रहेको श्रोतको दाबी छ ।
सबैभन्दा विडम्बनापूर्ण पक्ष भनेको—सर्वसाधारण नागरिकले आफ्नै घरायसी प्रयोजनका लागि सीमापारिबाट सानो परिमाणमा सामान ल्याउँदा चेकपोस्टमा कडाइ, सोधपुछ र हैरानी व्यहोर्नु परिरहेको छ । तर, ठूलो मात्रामा तस्करी गर्ने समूहहरू भने ‘निर्वाध’ रूपमा कारोबार गरिरहेको छ ।
स्थानीयवासी भन्छन्, “साधारण जनतालाई कडाइ, तस्करलाई सजिलो—यो कस्तो नीति हो?”
यसले सरकारको सीमा व्यवस्थापन, राजस्व नियन्त्रण तथा सुशासनप्रतिको प्रतिबद्धतामाथि गम्भीर प्रश्न खडा गरेको छ । यदि यस्ता गतिविधि नियन्त्रणमा लिन प्रभावकारी कदम चालिएन भने यसले राज्यको राजस्वमा ठूलो नोक्सानी पुर्याउनुका साथै सुरक्षा चुनौती समेत निम्त्याउन सक्ने देखिन्छ ।
सीमापारी बैरगनिया बजारमा तस्करीको कपडा लोड भएर नेपाल तर्फ आउदै गरेका कुरा गौर भन्सार कार्यालयका प्रमुख विकास रजकलाई जानकारी एक स्थानीय संचारकर्मीले गराउदा उनले नियमन गर्ने बताए तर केही वेरमै उक्त कपडा लोड भएका अटो निर्वाध रुपमा गन्तव्य सम्म पुग्न सफल हुँदा पुनः ति संचारकर्मीले प्रमुख रजक संग सोध्दा उल्टै हप्काएको गुनासो गरे ।
यसबाट पुष्टि भएको छ सीमामा हुने राजस्व छलीको कारोवारमा भन्सार प्रमुख रजकको भुमिका पनि शंकाको घेरामा रहेको हुँदा यस्ता कारोवार गर्ने र गराउनेहरु विरुद्ध छानविन गरिनु नितान्त आवश्यक रहेको ति संचारकर्मीले तराई टप लाई बताए ।