फोटो क्याप्सनः कटहरियामा लाग्ने हाट बजारको एआई प्रविधिबाट तयार गरिएको तस्वीर हो ।
एसके मिश्रा
कटहरिया (रौतहट), १ बैशाख । रौतहटको कटहरिया बजारमा मोबाइल चोरीका घटना तीव्र रूपमा बढ्न थालेपछि स्थानीय व्यापारी र सर्वसाधारण त्रसित बनेका छन् ।
गएको आइतबार हाटबजारकै दिनमा ६ जनाको महगा मोबाइल चोरी भएपछि बजारको सुरक्षामाथि गम्भीर प्रश्न उठेका हुन् ।
कटहरिया बजारको किराना व्यवसायी बिनोद साह बनियाको करिब ५५ हजार रुपैया पर्ने सामसुङ मोबाइल तरकारी खरिद गर्ने क्रममा पाकेटबाटै चोरी भएको छ । “मोबाइल पाकेटमै थियो, बजारबाट बाहिर निस्कदा पाकेटमा केही थिएन” उनले बताए ।
यस्तै वडा नम्वर ३ बिर्तीप्रस्टोका का लक्षुमण साह बनियाको तरकारी किन्ने क्रममा १७ हजार रुपैयाँ बराबरको भिभो मोबाइल चोरी भएको गुनासो गरे । “पैसा दिएपछि हेर्दा मोबाइल नै थिएन,” उनले भने । यस्तो घटनापछि दुई जना बालक भाग्दै गरेको सूचना समेत स्थानीयले दिएका थिए ।
सोही दिन अन्य ४ जनाको मोबाइल पनि चोरी भएको स्थानीय मोहन साहले जानकारी दिए । तर ईलाका प्रहरी कार्यालय कटहरिया का प्रमुख सई मोहन आले मगरका अनुसार हालसम्म एक जनाको मात्रै औपचारिक उजुरी परेको बताए । उनले अन्य पीडितलाई पनि सम्पर्कमा आउन आग्रह गर्दै घटनाबारे अनुसन्धान भइरहेको बताए ।
दुई वर्षपछि पुनः मोवाइल चोरी गर्ने गिरोह सक्रिय
दुई वर्षअघि बारागढी गाउँपालिका–श्रीपुरा का दुई नाबालक रंगेहात पक्राउ परेपछि यस्तो गतिविधि रोकिएको थियो । तर पुनः संगठित रूपमा गिरोह सक्रिय भएको स्थानीय व्यापारी दिनानाथ साह कलवारले चिन्ता व्यक्त गरे ।
‘संगठित’ तरिकाले चोरी
स्थानीय स्रोतका अनुसार १० देखि १४ वर्ष उमेर समूहका नाबालकहरूलाई प्रयोग गरी योजनाबद्ध रूपमा मोबाइल चोरी गरिदै आएको छ । अभिभावककै संलग्नतामा विभिन्न जिल्लाका हाटबजारमा पुग्ने, भीडको फाइदा उठाउने र चोरी गरेको मोबाइल तुरुन्तै अभिभावकलाई बुझाएर फरार हुने शैली अपनाइएको छ ।
ती नाबालकहरू सामान्य दिनमा भाडाको घर, होटल वा लजमा बस्ने र हाटबजारका दिन मात्र सक्रिय हुने गरेको बताइन्छ । स्रोतका अनुसार बारा जिल्लाको श्रीपुरा क्षेत्रका झण्डै एक दर्जन नाबालक यस कार्यमा संलग्न रहेको दाबी गरिएको छ ।
कसरी हुन्छ चोरी ?
मोबाइल चोरी गर्ने तरिका अत्यन्तै चलाखीपूर्ण रहेको छ । नाबालकहरू हातमा कपडा वा बाक्लो प्लास्टिकको झोला बोकेर भीडभाडमा घुम्छन् । ग्राहक तरकारी छान्न निहुरिएका बेला झोलाले दृश्य छेक्दै चुपचाप पाकेटबाट मोबाइल निकाल्ने गरिन्छ ।
नियन्त्रणका उपाय के ?
स्थानीयवासीले हाटबजार क्षेत्रमा शंकास्पद गतिविधि गर्ने नाबालक माथि निगरानी बढाउनुपर्ने बताए । प्रहरी–समुदाय सहकार्यलाई प्रभावकारी बनाउँदै सचेतना र सुरक्षा सतर्कता बढाउन सके यस्ता घटनामा नियन्त्रण आउने विश्वास गरिएको छ ।
मोबाइल चोरीका श्रृंखलाबद्ध घटनाले कटहरिया बजारमा त्रास फैलाएको छ । अब यसको नियन्त्रणका लागि प्रहरीको सक्रियता र स्थानीयको सजगता अपरिहार्य देखिन्छ ।