ओमप्रकाश यादव
रौतहट, ५ वैशाख । रौतहटको बृन्दावन नगरपालिकाको बिश्राम्पुरमा एलानी जग्गामा वर्षौंदेखि बसोबास गर्दै आएका ६ सुकुम्बासी परिवारको घर नगरपालिकाले डोजर लगाएर भत्काइदिँदा उनीहरू एकैछिनमा घरवार विहीन बनेका छन् ।
शुक्रवार बिहान विना पूर्व सुचना एवं पूर्व तयारी बिना पुगेको नगरपालिकाको डोजरले घरमाथि जथाभावी चलाउँदा पीडितहरू आफ्नो लत्ताकपडा, अन्नपात र भाँडाकुँडा समेत जोगाउन नसकेको गुनासो गरेका हुन् ।
घरभित्रका आवश्यक सामग्री समेत निकाल्न नदिई संरचना भत्काइएकोमा उनीहरूको अवस्था झन् दयनीय बनेकोमा उनीहरु स्थानीय सरकार प्रति चर्को आक्रोश पोखेका छन् ।
पीडितहरूका अनुसार आफूहरूले घर आफैं हटाउन दुई दिनको समय माग्दा समेत नगरपालिकाले बेवास्ता गर्दै बल प्रयोग गरेको गुनासो गरे । डोजर चलेपछि सैनुल नट, दिगम्बर ठाकुर, लालबाबु ठाकुर र अजय ठाकुर सहितका परिवार पूर्ण रूपमा विस्थापित भएका हुन् । हाल उनीहरू स–साना बालबालिका सहित खुला आकाशमुनि बस्न बाध्य रहको छ ।
पीडितहरू नगर प्रमुख विनोद प्रसाद कुर्मी र वडाध्यक्ष सिकेन्द्र पटेल माथि लक्षित रूपमा घर भत्काएको आरोप लगाए । सोही क्षेत्रमा रहेका आफ्ना नजिकका र एउटै समुदायका व्यक्तिहरूको घर भने जोगाइएको छ, जसले पक्षपात भएकोमा आक्रोश व्यक्त गरे ।
उक्त स्थानमा करिब ११ कठ्ठा एलानी जग्गामा नगरपालिकाको भवन निर्माण भइरहेको बताइएको छ । तर पीडितहरूले यदि जग्गा खाली गराउनुपर्छ भने सबैको घर समान रूपमा हटाइनुपर्ने, उचित मुआब्जा दिनुपर्ने र वैकल्पिक बसोबासको व्यवस्था गरिनुपर्ने माग उठाए ।
त्यसैगरी, तत्काल राहतस्वरूप खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, त्रिपाल तथा अस्थायी टहराको व्यवस्था गर्न पनि उनीहरूले आग्रह गरेका छन् । आफूहरूको समस्या समाधान नभए नगरपालिका विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।
घटनाबारे प्रतिक्रिया लिन खोज्दा नगर प्रमुख कुर्मी सम्पर्कमा आउन सकेनन् ।
एकै झट्कामा घर उजाडिँदा यी परिवारको जीवन अनिश्चित र कष्टकर बनेको छ—जहाँ आज उनीहरूसँग न आश्रय छ, न भोलिको कुनै सुनिश्चितता नै ।