सरोज मिश्रा
चन्द्रनिगाहपुर (रौतहट), १२ वैशाख । रौतहटको चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको छैठौं साधारण सभा शनिबार हर्षोल्लासका सम्पन्न भएका छन् ।
साधारण सभामा उपभोक्ताको आधारभूत आवश्यकतालाई मध्यनजर राख्दै—शुद्ध खानेपानीको विषयमा मात्रै केन्द्रित हुनुपर्नेमा जोड दिदै समितिमा जुनसुकै राजनीतिक दल प्रति आस्था राख्नेहरु जनहितको सबालमा राजनीतिकरण नगर्नुपर्ने सुझाव दिइएका हुन् ।
साधारण सभाको उद्घाटन गर्दै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय काफ्लेले उपभोक्तालाई स्वच्छ र शुद्ध पानी उपलब्ध गराउन समितिले खेलेको भूमिकामा नगरपालिकाले निरन्तर साथ दिएको बताए । पाइपलाइन विस्तार देखि आवश्यकता अनुसार सहयोग गर्दै आएको उनले स्पष्ट पारे ।
तर, सोही कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सचिव मुकुन्द पौडेलले सरकार चलाउने जिम्मेवारी सँगै खानेपानी समितिको नेतृत्व समेत आफ्नो पार्टीलाई दिन उपभोक्तासँग आग्रह गरेपछि कार्यक्रममा राजनीतिक मोड लिएको देखियो ।
नेपाली कांग्रेसका प्रतिनिधि विनोद गुप्ताले शुद्ध पानीको पहलमा पूर्व सांसद देवप्रसाद तिमल्सिनाको योगदानलाई सम्झन आग्रह गरे भने नेकपा एमालेका नगर सचिव शिव आचार्यले नगरपालिकाले केही वडा मात्र होइन, सबै वडामा समान रूपमा शुद्ध पानी पुर्याउनुपर्नेमा जोड दिए ।
नेकपा (माओवादी) का नगर अध्यक्ष टिका आचार्यले भने बक्यौता रकम असुली गरेर समितिलाई मजबुत बनाउन सुझाव दिए ।
समितिका अध्यक्ष किशोर प्रसाद उपाध्यायले प्रगति विवरण प्रस्तुत गर्दै बढ्दो माग अनुसार मोटर थप्दै लगिएको जानकारी दिए । साथै, वडा नम्वर ८ स्थित डाबरीमा ओभरहेड ट्यांकी निर्माणका लागि सर्वे सम्पन्न भई सम्बन्धित निकायमा पहल भइरहेको बताए । प्रविधिमैत्री प्रणालीतर्फ समितिले ध्यान दिएको पनि उल्लेख गरे ।
कोषाध्यक्ष बिनिता बख्रेलका अनुसार आर्थिक वर्ष ०८१–०८२ मा ८ लाख ८४ हजार २२४ रुपैयाँ नाफा भएको छ भने बैंक मौज्दात ३० लाख ४८ हजार ३८५ रुपैयाँ रहेको छ । तर, ३९ लाख ६४ हजार १८० रुपैयाँ अझै उठ्न बाँकी रहेको तथ्यले वित्तीय व्यवस्थापनमा चुनौती देखाएको बताए ।
साधारण सभामा उत्कृष्ट कर्मचारीको रूपमा अच्युत कोइरालालाई सम्मान गरियो । सभा सचिव अवधेशहरी भट्टराईले सञ्चालन गरेका थिए भने उपाध्यक्ष डोल प्रसाद मगरले स्वागत मन्तव्य राखेका थिए।