सर्लाही, १५ वैशाख । सर्लाही जिल्लाको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा तस्करी गतिविधि नियन्त्रण भन्दा बाहिर जाँदै गएको संकेतहरू पछिल्लो घटनाक्रमले देखाएका छन् ।
सार्वजनिक रूपमा बाहिरिएका अडियो रेकर्ड, स्थानीय स्रोतका दाबी र निरन्तर भइरहेका अवैध कारोवारले सुरक्षा संयन्त्रकै भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन् ।
पछिल्लो समय मधेश प्रदेशका उच्च तहसम्म तस्करीसँग सम्बन्धित अडियो सार्वजनिक भए पनि त्यसको प्रभाव सर्लाहीमा देखिन सकेको छैन । बरु, तस्करी गतिविधि झन् व्यवस्थित र व्यापक बनेको स्थानीयको भनाइ छ । सीमामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही तत्वसँग ‘सेटिङ’ मिलाएर तस्करी सञ्चालन भइरहेको आरोप बारम्बार दोहोरिँदै आएको छ ।
सीमापारी भारतीय सुरक्षा बल एसएसबीले दैनिकजसो लागूऔषध र अवैध सामान बरामद गरिरहेको भए पनि ठूलो परिमाणमा हुने तस्करीलाई यसले खासै रोक्न नसकेको देखिन्छ । साना खेप समातिदा मुख्य कारोबारीलाई असर नपर्ने गरी नेटवर्क सञ्चालन भइरहेको विश्लेषकहरूको भनाइ छ ।
विशेषगरी दुई महिना अघि अर्थात फागुन १२ गते सशस्त्र प्रहरी असई सुरेश महतो माथि तस्करी सेटिङ मिलाउने आरोप गम्भीर रूपमा उठेका थिए । केही समयअघि चश्मावाली नामक महिला संग संग भएको संवाद सार्वजनिक अडियो प्रकरणपछि उनीमाथि कारबाहीको नाममा झारो टार्ने कार्य भएको थियो ।
महतो दुई दिनमै पुनः जिम्मेवारीमा फर्किएको घटनाले ‘उच्चस्तरीय संरक्षण’ को आशंकालाई थप बल पुर्याएको देखिन्छ । स्रोतका अनुसार उनीमार्फत सीमाका विभिन्न नाकाहरू—सग्राम्पुर, पर्सा, नारायणपुर, सखुअवा, त्रिभुवननगर, भाँडसर, सिमरा, मधुवनी देखि बलरा, लक्ष्मिपुर, सिरकटा, छतौना, सेढवा छनकी क्षेत्रसम्म—तस्करी सञ्जाल यतिखेर सक्रिय छ ।
यी क्षेत्रमा रहेका विओपी र प्रहरी चौकीहरूबीच समन्वयको नाममा हुने ‘अनौपचारिक समझदारी’ ले अवैध कारोबार सहज बनाइरहेको आरोप छ । नेपालबाट भारततर्फ चाइनिज स्याउ, लहसुन, खरबजुजाको विऊ, अखरोट, लगायतका विभिन्न सामानहरु र भारतबाट कपडा, स्पेयर पाट्र्स, प्रतिबन्धित औषधि लगायतका दैनिक उपभोग्यका सामग्री नेपाल भित्रर्याउने क्रम निरन्तर जारी रहेको बताइन्छ ।
बरहथवाका राजिव यादवले बलरा नगरपालिका ३ का सतन यादव र रुपेश यादव मार्फत भारतबाट कपडाको तस्करी गराएर बरहथवा सम्म ल्याउने गरेको छ । उक्त राजस्व छलीका सामानहरु सिरकटा र लक्ष्मिपुर नाका आसपासका खुला खेत तथा दुर्गम बाटाहरू तस्करीका मुख्य मार्ग बनेका छन ्। यसले न केवल राज्यको राजस्वमा क्षति पुर्याएको छ, बरु सीमाक्षेत्रको सुरक्षा व्यवस्थामै गम्भीर चुनौती थपेको छ ।
त्यसैगरी, बलरा नपामा पर्ने छनकी सेढवाका शम्भु साहले दैनिक रुपमा मदिरा भारत तर्फ पठाउने गरेको तथा भारतबाट नेपालमा प्रतिबन्ध रहेका बचवा माछा ल्याउने गरेको गम्भीर आरोप ति श्रोतले लगाए । विडम्बना, नियन्त्रण गर्ने जिम्मेवारीमा रहेका घुमुवा प्रहरी र युनिट इन्चार्जहरू नै यसमा संलग्न रहदा नियन्त्रण हुन नसकेको बुझिएको छ ।
यस विषयमा सशस्त्र प्रहरी बल नम्बर १० गण सर्लाहीका प्रमुख एसपी अमरबहादुर खत्रीले सीमामा निगरानी कडा बनाइएको दाबी गरे । असई घुमुवा कहाँ छन् भन्ने प्रश्नमा उनले गणमै रहेको स्वीकारे । तर, वास्तविकता भने त्यसको ठीक उल्टो देखिने स्थानीयको गुनासो छ ।
स्मरण रहोस, सर्लाहीको सीमामा बढ्दो तस्करी केवल आर्थिक अपराध मात्र होइन, यो राज्यको शासन प्रणालीमाथिको चुनौती पनि हो । यदि समयमै कडा र निष्पक्ष कदम चालिएन भने, यो समस्या अझै गहिरिँदै जाने र त्यसको असर राष्ट्रिय सुरक्षासम्म पुग्ने जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन विशेषज्ञहरु बताउँछन् ।
फागुन १२ गते तराई टप ले व्रेक गरेका असई महतो र चश्मावाली बीचको अडियो पश्चात समेत कारवाही नहुनुको पछाडी उच्च पदस्थ पदाधिकारीको साँठगाँठ पुष्टि भएको छ । प्रस्तुत छ सोही समयमा भएको अडियोलाई पुन राखिएको छ ।