ओम प्रकाश यादव
रौतहट, १५ वैशाख । रौतहटको गौरमा रहेका पूर्वाधार विकास कार्यालय र पर्यटन विकास कार्यालय मार्फत सञ्चालन हुँदै आएका विकास निर्माणका योजनाहरूमा चरम भ्रष्टाचार, कमिसनखोरी, अनियमितता र व्यापक बेथिति मौलाएको आरोप लगाउदै जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटद्वारा मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।
जसपा नेपाल जिल्ला कार्यसमिति रौतहटका अध्यक्ष राजीव रञ्जन यादवको नेतृत्वमा दर्जनौ नेता कार्यकर्ताहरु आज दिउसो जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रजिअ समक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापनपत्र बुझाउँदै पूर्वाधार विकास कार्यालय र पर्यटन विकास कार्यालय मार्फत सञ्चालन हुने योजनाहरूमा भइरहेको भ्रष्टाचार तत्काल रोक्न, कमिसन लिएर भुक्तानी गर्ने प्रवृत्तिको अन्त्य गर्न तथा योजनाको चिठी खरिद बिक्रीजस्ता गैरकानुनी कार्य तत्काल बन्द गर्न माग गरे ।
ज्ञापनपत्रमा मधेश प्रदेशका विभिन्न मन्त्रालयबाट विनियोजित बजेट रौतहटको गौर स्थित यी कार्यालयहरू मार्फत उपभोक्ता समितिबाट सञ्चालन गरिने योजनाहरूमा व्यापक भ्रष्टाचार संस्थागत बन्दै गएको आरोप लगाइयो ।
पार्टीले विधिको शासन, जनमुखी पारदर्शिता र सुशासन कायम गर्न यी कार्यालयबाट सञ्चालन हुने सम्पूर्ण योजना सार्वजनिक खरिद ऐनअनुसार कानुनी, पारदर्शी र उत्तरदायी ढंगले सञ्चालन हुनुपर्ने स्पष्ट माग अघि सारेको छ।
ज्ञापनपत्रमा सर्वोच्च अदालतको आदेश विपरीत प्रदेश सरकारले प्रदेश सांसदहरूलाई गैरकानुनी रूपमा छुट्याएको भनिएको ५/५ करोड रुपैयाँ बराबरका योजनामा तत्काल रोक लगाउन पनि माग गरिएको छ।
जसपाले कथित संसदीय कोषअन्तर्गत रहेका योजनाबाहेक थप ४६८ वटा योजना समेत कमिसन र भागबन्डाको आधारमा नभई पूर्ण पारदर्शी ढंगले कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
पूर्वाधार विकास कार्यालय गौरका कार्यालय प्रमुख दीपककुमार मिश्रामाथि पनि जसपाले भ्रष्टाचार गराउनमा मद्दत पुर्याउदै आएको गम्भीर आरोप लगाए ।
ज्ञापनपत्र अनुसार कार्यालय प्रमुख मिश्र नियमित रूपमा कार्यालयमा उपस्थित नहुने, कार्यालय भन्दा बाहिर बसेर कार्यालयको दर्ता तथा चलानी किताब आफ्नै नियन्त्रणमा राखी बाहिरबाटै योजना सञ्चालन गर्ने कार्य भइरहेको आरोप छ। यसले प्रशासनिक प्रणालीमाथि नै प्रश्न उठाएको जसपाको भनाइ छ।
त्यस्तै, निधि आवास योजना अन्तर्गतका १५ सय घरसम्बन्धी कार्यक्रम समेत कार्यालय प्रमुख मिश्राले कमिसनको भरमा सञ्चालन गरिरहेको गम्भीर आरोप ज्ञापनपत्रमा समावेश गरिएको छ। जसपाले यस्ता गतिविधिले विकासे योजना जनताको हितका लागि नभई सीमित व्यक्तिको आर्थिक स्वार्थ पूर्तिको माध्यम बनेको दाबी गरे ।
ज्ञापनपत्रमार्फत जसपा नेपाल रौतहटले आफ्ना मागहरू तत्काल सम्बोधन नभए पूर्वाधार विकास कार्यालय गौर र पर्यटन विकास कार्यालय गौरविरुद्ध कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन