भारत–नेपाल सीमावर्ती क्षेत्र घोडासहान बजारमा अवैध गतिविधिको ठूलो अड्डा संचालनमा रहेको भारतीय प्रहरीले उजागर गरेका छन् ।
भारतीय प्रहरीले संगठित हवाला र मनी लौन्डरिङको जालो भत्काउदै ७० लाख भन्दा बढी भारतीय तथा नेपाली मुद्रा बरामद गरेपछि सीमावर्ती क्षेत्रमा फैलिएको आर्थिक अपराधको सञ्जालको रहस्य उजागर गरेका हुन् । मोतिहारी प्रहरीलाई प्राप्त भएको गोप्य सूचनाका आधारमा विशेष टोलीले परिचालन गरेर योजनाबद्ध रुपमा छापामारीमा ५६ लाख ७१ हजारभन्दा बढी भारतीय रुपैयाँ र १३ लाख ६७ हजार भन्दा बढी नेपाली रुपैया नगद बरामद गरिएको छ ।
साथै, कम्प्युटर, नोट गन्ने मेसिन, दुई वटा पीओएस मेसिन, ११ मोबाइल र बैंक कारोबार सँग सम्बन्धित सामग्री समेत जफत गरिएको प्रहरीले जनाए ।
प्रहरी कारबाहीका क्रममा सुरेन्द्र प्रसाद, प्रेम सागर कुमार, गंगा सागर कुमार र विक्रम कुमारलाई पक्राउ गरिएको छ । प्रारम्भिक अनुसन्धानले उनीहरू बाहिरी रूपमा सामान्य व्यापार देखाएर भित्रैबाट अवैध मुद्रा कारोबार र हवाला नेटवर्क सञ्चालन गर्दै आएको खुलासा भएको हो ।
अनुसन्धानका क्रममा यस्ता गिरोहले भारतीय र नेपाली मुद्रा साटासाटको नाममा करोडौको गैरकानुनी कारोबार गर्दै आएको पाइएको छ । म्युले अकाउन्ट, ट्रेडिङ एप, क्रिप्टो एक्सचेन्ज र यूएस डीटी जस्ता डिजिटल माध्यम प्रयोग गरी रकम ओसारपसार गरिदै आएको खुलेपछि घोडासहानमा अपराधिक सञ्जाल झन् जटिल र खतरनाक खेललाई भारतीय प्रहरीले पर्दाफास गरेका छन् ।
भारतीय मिडियाका अनुसार एक फाइनान्स खातामार्फत करिब ६ मिलियन यूएसडीटी (करिब ५० करोड) बराबरको कारोबार भएको अनुसन्धानको क्रममा पुष्टि भएको छ । मोबाइलहरूमा बहुविध बैंक खाताहरू, ई–केवाईसी दुरुपयोग सम्बन्धी एप्स र अन्तरदेशीय आर्थिक लेनदेनका प्रमाण भेटिएको छ ।
अपरेसन मोतिहारीका प्रहरी प्रमुखको निर्देशनमा साइबर डीएसपी अभिनव परासरको नेतृत्वमा सञ्चालन गरिएको थियो । अनुसन्धानका क्रममा अपराधिक सञ्जालको तार अन्तर्राष्ट्रिय तथा अन्तर्राज्यीय स्तरसम्म फैलिएको आशंका भारतीय प्रहरीले गरेको छ, जसले आगामी दिनमा थप ठूला खुलासा हुन सक्ने स्पष्ट पारे ।
सीमावर्ती क्षेत्रमा यस प्रकारको संगठित आर्थिक अपराधको घटना बाहिरिनु सुरक्षा निकायका लागि गम्भीर प्रश्न खडा गरेका छन् । प्रहरीले मुद्दा दर्ता गरी थप अनुसन्धानलाई तीव्र बनाएको छ भने अन्य सम्भावित ठेगानामा पनि छापामारी जारी राखिएको जनाए ।