प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर गम्भीर घाईते भएका न्यौपानेको उपचारको क्रममा मृत्यु, महोत्तरी प्रशासनद्धारा बर्दिवास क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट, १० मंसिर । महोत्तरीको बर्दिबासमा बालिका बलात्कर पश्चात हत्याको बिरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी माथि प्रहरीले गोली चलाउदा गम्भीर घाईते भएका एक जनाको उपचारको क्रममा मंगलवार राति मृत्यु भएको छ ।
बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय सञ्जय भन्ने बुद्धिराज न्यौपानेको काठमाण्डौ स्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा गए राति मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएको हो । न्यौपानेको दुवै तीघ्रामा गोली लागेर गम्भीर घाइते भएपछि स्थानीय सगुन अस्पतालमा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत काठमाडौंको ग्रान्डी अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा राति १ बजेको समयमा मृत्यु भएको छ ।
बर्दिवास नगरपालिका वडा नम्वर १४ का सहिद आलमको ६ वर्षीया छोरी गुलाव साह खातुनलाई स्थानीय २५ बर्षिय अजयकुमार साहले बलात्कार पश्चात घाँटी थिचेर हत्या गरी बोरामा शव राखेर घर नजिकै फालिएको अवस्थामा सोमवार राति फेला परेका थिए । बलात्कार पश्चात हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका आक्रोशित स्थानीय बासिन्दाहरुद्धारा पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवासमा मंगलबार सडक अवरुद्ध पारेका थिए ।
आरोपित साहको घरलाई आक्रोशित स्थानीयद्धारा आगजनी गराएको तथा अबरुद्ध पारिएको राजमार्ग खुलाउन प्रहरीले निकै प्रयास गर्दा पनि प्रदर्शनकारीहरु झन् उग्र भएपछि राजमार्ग खुलाउन प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास र गोली चलाएको थियो । गोली लागेर तीनजना घाइते भएका थिए । घाइतेमध्ये न्यौपानेको मृत्यु भएपछि जिल्ला सुरक्षा समिति महोत्तरीको आकस्मिक बैठकबाट बर्दिवास क्षेत्र वरपरको क्षेत्रमा कफर््यु लगाएको प्रजिअ कटुवालले जानकारी दिए ।
प्रहरीको गोलीबाट गम्भीर घाईते भएको न्यौपानेको उपचारको क्रममा मृत्यु भएपछि कुनै अप्रिय घटना हुन नदिन अहिले राजमार्ग क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै गाउँ गाउँबाट प्रदर्शन गर्न बर्दिवास तर्फ आउने स्थानीय बासिन्दाहरुलाई राजमार्गमा आउन नदिनका लागि महोत्तरी प्रशासनले बर्दिबास नगरक्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मलाई निषेधाज्ञा लगाएको हो । जिल्ला प्रशासन कार्यालय महोत्तरीद्धारा जारी गरिएको विज्ञप्तीमा पूर्वमा बर्दिवास नगरपालिका–१ रातुखोला, पश्चिममा वडा नम्बर ५ माईस्थान, उत्तरमा वडा नं ३ पाटुचोक र दक्षिणमा वडा नं ८ क्वाटर चोकलाई चार किल्ला कायम गरी निषेधाज्ञा लगाइएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा जारी निषेधाज्ञा पत्रमा आदेश पालना नगर्नेलाई कारबाही गरिने उल्लेख छ । निषेधाज्ञा भए पनि पूर्व–पश्चिम राजमार्गमा भने गाडी चल्न दिइने प्रशासनले जनाएको छ ।