कटहरिया (रौतहट), ३० वैशाख । रौतहटको कटहरिया नगरपालिकाको कटहरिया बजार क्षेत्रबाट रहस्यमय रुपमा तीन जना बालक बेपत्ता भएको खवर सार्वजनिक भएपछि परिवारजन सहित बजार क्षेत्रमा त्रास र चिन्ताको माहौल छाएका छन् ।
कटहरिया नपा ५ स्थित त्रिशक्ति इग्लिश बोडिंग स्कुलमा एउटै कक्षामा अध्ययनरत तीनै जना बालक एकैसाथ बेपत्ता भएपछि परिवारजन सहित स्थानीयवासीमा त्रास एवं चिन्ताको माहौल बीच आफन्त तथा प्रहरी खोजी कार्यमा जुटेका हुन् ।
कटहरिया नगरपालिका–५ निवासी सम्सुदिन अन्सारीका १४ वर्षीय छोरा सकील अन्सारी, सुरेन्द्र साह सोनार “किरायसिन” का १४ वर्षीय छोरा कुन्दन साह सोनार तथा भरत दास सरभंगका १२ वर्षीय छोरा पवन कुमार दास सरभंग वैशाख २८ गते अर्थात गत सोमबार देखि सम्पर्क विहीन रहेको पिडित परिवारले जनाएको छ ।
पिडित परिवारका अनुसार तीनैजना विद्यार्थी सोमबार विद्यालयबाट घर फर्किएपछि केही समयपछि “बाहिर खेल्न जान्छौँ” भन्दै घरबाट निस्किएका थिए । त्यसपछि उनीहरू घर नफर्किएपछि परिवारमा चिन्ता र डरत्रास छाएको हो ।
सुरुमा आफन्त, साथीभाइ तथा सम्भावित स्थानहरूमा खोजी गर्दा कुनै जानकारी नपाएपछि अभिभावकहरूले ईलाका प्रहरी कार्यालय कटहरियामा खोजी कार्यका लागि निवेदन दर्ता गराए ।
अभिभावक सकील अन्सारी सँग केही नगद रकम रहेको र उनीहरू भारतको दिल्ली जाने योजना बनाइरहेका थिए भन्ने अपुष्ट सूचना साथीहरूबाट प्राप्त भएको छ । तर यस विषयमा प्रहरीले औपचारिक रुपमा पुष्टि गरिसकेको छैनन ।
ईलाका प्रहरी कार्यालय कटहरियाका सई मोहन आले मगरले तीनै बालकहरूको तस्वीर र हुलिया सहितको विवरण सम्बन्धित सुरक्षा निकायमा पठाइसकिएको जानकारी दिए । उक्त विवरणका आधारमा हरेक युनिटहरुमा परिचालन गरिएको छ भने भारतीय प्रहरीसँग पनि समन्वय गर्ने प्रक्रिया अघि बढाइएको बताए । प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान भइरहेको जनाउँदै यो अपहरण, घरबाट भागेको वा अन्य कुनै कारण हो भन्नेबारे तत्काल निष्कर्षमा पुग्न नसकिने जनाए ।
घटनाले कटहरिया बजार क्षेत्रलाई स्तब्ध बनाएको छ । स्थानीयवासीले एकैपटक तीन विद्यार्थी हराएको घटना यसअघि कहिल्यै नभएको भन्दै बालबालिकाको सुरक्षाप्रति गम्भीर चासो व्यक्त गरे ।
यदि कसैले यी बालकहरूलाई कतै देखेमा नजिकको प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल नम्बर १०० वा मोबाइल नम्बर ९८५५०४२०९५ मा तुरुन्त जानकारी दिन प्रहरीले आग्रह गरेको छ ।
यस्तै गत आईतवार गरुडा नगरपालिका ४ रिडर्स स्कुल अगाडीबाट १० बर्षीया बालिका वेपत्ता छिन अहिले सम्म कुनै अत्तोपत्तो नरहेको खवर आएपछि तीन बालक बेपत्ता भएको खवरले जिल्लाभरीको माहौललाई तताएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन