रौतहट, ५ जेठ । रौतहटको सदरमुकाम गौरस्थित विद्यापतिनगरमा धार्मिक आस्था र सांस्कृतिक संरक्षणलाई थप मजबुत बनाउने उद्देश्य सहित शनि भगवान तथा बटुक भैरवको प्रतिमा स्थापना एवं मन्दिर निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ ।
गौर नगरपालिका–५ स्थित विद्यापति महादेव मन्दिर अगाडि निर्माण हुन लागेको उक्त धार्मिक संरचनाको शिलान्यास गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक विशेष समारोहबीच गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख साहले गौर नगरपालिकामा धर्म, संस्कृति र सामाजिक सद्भावलाई प्राथमिकतामा राखेर विकासका काम अघि बढाइरहेको बताए । उनले गौर नगरपालिकाको ८ लाख रुपैयाँको आर्थिक लगानीमा निर्माण हुनका लागि शिलान्यास गरिएको उक्त मन्दिरका लागि आवश्यक अपुग बजेटसमेत नगरपालिकाले व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
“नगरलाई विकासन्मुख बनाउने अभियानसँगै सबै धर्म र समुदायप्रति समान व्यवहार गर्दै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा नगरपालिका प्रतिबद्ध छ,” नगरप्रमुख साहले बताए ।
स्थानीय समाजसेवी राघवेन्द्र झाको विशेष पहल तथा प्रत्यक्ष रेखदेखमा निर्माण हुन लागेको उक्त धार्मिक परियोजना प्रति स्थानीयवासीहरू समेत उत्साहपूर्वक जुटेका छन् । स्थानीय स्तरमा धार्मिक वातावरण सुदृढ पार्ने विश्वासका साथ नागरिकहरूले निर्माण कार्यमा सक्रिय सहभागिता जनाए ।
शिलान्यास कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, धर्मप्रेमी तथा सर्वसाधारणको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । उक्त मन्दिर निर्माणपछि विद्यापतिनगर क्षेत्र धार्मिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुने अपेक्षा गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन