रौतहट, ५ जेठ । रौतहटको परोहा नगरपालिका–३ स्थित स्वास्थ्य चौकी तेजापाकडमा आँखा स्वास्थ्य तथा अन्धोपन न्यूनीकरण सम्बन्धी एकदिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ अन्तर्गत सञ्चालित गौर आँखा अस्पतालद्वारा सञ्चालित बंकुल आँखा उपचार केन्द्रको आयोजनामा “अन्धोपन तथा बाल अन्धोपन न्यून गर्ने उद्देश्य सहित हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा सबैको साझेदारी” भन्ने मूल नारासहित जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेयले आँखा स्वास्थ्यप्रति समुदायलाई सचेत बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले अस्पतालबाट खटिएका प्रशिक्षक नेत्र अधिकृत विनिता केशरी, कार्यक्रम संयोजक स्वयं पाण्डेय तथा बंकुल आँखा उपचार केन्द्रका इन्चार्ज अताब आलम दर्जीले व्यवहारिक प्रशिक्षण प्रदान गरेको जानकारी दिए ।
डिजिटल पावरप्वाइन्टको माध्यमबाट प्रस्तुती भएको तथा सहभागीहरूलाई आँखाको नियमित हेरचाह, पोषणयुक्त खानपिन, आँखामा देखिने सामान्य समस्या तथा बच्ने उपायबारे विस्तृत जानकारी गराइयो । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ३८ जनाको सहभागिता रहेको आयोजकले जनाए ।
कार्यक्रमलाई सफल एवं भव्य बनाउन परोहा नगरपालिकाका स्वास्थ्य सेवा प्रमुख जालन्धर यादवको विशेष पहल तथा सहयोग उल्लेखनीय रहेको सहभागीहरूले बताए ।
त्यस अवसरमा सहभागी वक्ताहरू विगतदेखि महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदायस्तरमा खेलेको भूमिका अत्यन्त प्रशंसनीय रहेको उल्लेख गर्दै उनीहरूको सेवामूलक तथा पुण्य कार्यप्रति सम्मान व्यक्त गरेका थिए ।
साथै आगामी दिनमा पनि अझ सक्रिय, जिम्मेवार र लगनशील भएर जनस्वास्थ्य सेवामा निरन्तर लाग्न आग्रह गरिएको थियो ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन