रौतहट, ११ जेठ । अत्यधिक गर्मीका कारण सरकारी सेवा लिन आउने सर्वसाधारण नागरिकलाई समस्या हुन थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले कार्यालय परिसरमा ठूलो क्षमताको कुलर जडान गरेको छ ।
पछिल्ला केही सातादेखि रौतहट सहित मधेशका जिल्लामा तापक्रम निरन्तर बढ्दै गएपछि विभिन्न प्रशासनिक सेवा लिन आउने सेवाग्राहीहरू घण्टौं सम्म लाइनमा बस्न बाध्य भएका थिए । चर्को घाम र तातो हावाका कारण कार्यालयमा बस्न कठिन हुन थालेपछि प्रशासनले तत्काल राहत दिने उद्देश्यले कुलर जडान गरेको जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको निर्देशनमा कार्यालय परिसरको प्रतीक्षालय क्षेत्रमा ठूलो साइजको कुलर राखिएको छ । कुलर सञ्चालनमा आएपछि सेवाग्राहीहरू गर्मीबाट केही राहत महसुस गर्न थालेका छन् ।
विशेषगरी नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सिफारिस लगायतका सेवा लिन दैनिक सयौं नागरिकहरु जिल्ला प्रशासन कार्यालय पुग्ने गरेका छन् । गर्मीका बीच चिसो हावा र पानीको व्यवस्थाले लामो समय पालो कुर्नुपर्ने बाध्यतामा केही सहज भएको सेवाग्राहीहरूको भनाइ छ ।
कार्यालयमा सेवा लिन आएका नागरिकहरूले प्रशासनको सकारात्मक पहललाई गर्मीमा केही राहत प्रदान गर्नुका साथै मानवीय कार्यका रूपमा लिए । प्रत्येक वर्ष मधेश प्रदेशमा बढ्दो गर्मीसँगै सरकारी कार्यालयमा सेवाग्राहीले सास्ती खेप्दै आएका बेला जिल्ला प्रशासन कार्यालय रौतहटको यो कदमलाई नागरिकमैत्री प्रयासको रूपमा हेरिएको छ ।
प्रशासनले आगामी दिनमा पनि सेवा प्रवाहलाई थप व्यवस्थित, सहज तथा नागरिकमैत्री बनाउँदै लैजाने जनाए । गर्मीका कारण सेवाग्राहीको स्वास्थ्यमा असर नपरोस् भन्ने उद्देश्यले आवश्यकतानुसार थप व्यवस्थापन गरिने प्रशासन स्रोतले जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन