वीरगञ्ज, १२ जेठ । वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख राजेशमान सिंह विरुद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको छ ।
किर्ते नागरिकता, जन्मदर्ता, राहदानी तथा सरकारी लिखत सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतले नगरप्रमुख सिंह विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।
गत जेठ १ गते सरकारी वकिल कार्यालय मार्फत नगरप्रमुख सिंह सहित चार जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । पर्सा जिल्ला अदालतका अनुसार अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाई नक्कली हस्ताक्षर तथा झुठा विवरण प्रयोग गरेर जन्मदर्ता, नागरिकता, राहदानी लगायतका सरकारी कागजात बनाइएको आरोपमा मुद्दा दर्ता भएको छ ।
मुद्दामा मेयर सिंहसँगै उनकी दोस्रो भनिएकी श्रीमती रिता भट्टराई, उनकी छोरी तथा पञ्जीकरण अधिकारीलाई समेत प्रतिवादी बनाइएको छ । अदालतले चारै जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको श्रोतले जनाए ।
मुलुकी अपराध संहिता २०७४ अन्तर्गत लिखत सम्बन्धी कसुर तथा किर्ते कागजत सम्बन्धी दफा २७६ को उपदफा १, २ र ३ (ग) अनुसार सरकारी वा सार्वजनिक लिखत किर्ते गर्नेलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँ सम्म जरिवानाको व्यवस्था रहेको छ ।
प्रहरीले लामो अनुसन्धान पछि तयार गरेको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले नगरप्रमुख सिंह विरुद्ध झुठा विवरण पेश गरी नागरिकता बनाएको तथा सरकारी लिखत किर्ते गरेको अभियोगमा चारवटा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो ।
यो प्रकरण पहिलो पटक २०८० साल पुसमा पत्रकार जियालाल साह ले “सिधाकुरा” मार्फत सार्वजनिक गरेका थिए । त्यसपछि यस विषयले व्यापक चर्चा पाए पनि अनुसन्धान प्रक्रिया लामो समय सम्म निष्कर्षमा पुग्न सकेको थिएन ।
उजुरीकर्ताले प्रहरी प्रशासन कारबाही अघि नबढाएको भन्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा रिट दायर गरेका थिए । त्यसपछि उच्च अदालतले तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको थियो ।
अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालय पर्साले विस्तृत अनुसन्धान गरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
सरकारी वकिल कार्यालयका अनुसार वीरगञ्ज–३ छपकैयाका लियाकत अलीले २०८० माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात किर्ते तथा नागरिकता किर्ते सम्बन्धी उजुरी दिएका थिए । उजुरीमा नगरप्रमुख सिंहले किर्ते जन्मदर्ताका आधारमा नागरिकता, राहदानी र अन्य सरकारी कागजात बनाइदिएको आरोप लगाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन