रौतहटको पश्चिमी क्षेत्र भएर बग्ने लालबकैया नदी यतिबेला व्यापक अवैध उत्खननको चपेटामा परेका छन् ।
कानुनी रूपमा टेण्डर प्रक्रिया पूरा नभएको अवस्थामा पनि नदीका विभिन्न घाटबाट दैनिक सयौं ट्रेक्टरले ढुंगा, गिटी र बालुवा उठाइरहेका पाइएका हुन् ।
स्थानीयवासीका अनुसार यो काम चोरी गरेर नभई प्रहरी, केही जनप्रतिनिधि, जिल्ला अनुगमन समितिका केही पदाधिकारी र तस्करबीचको कथित “सेटिङ” मै खुलेआम सञ्चालन भइरहेको छ ।
गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिका क्षेत्र अन्तर्गत जंगलसहिया, सिमरी, राँगी तथा बोटावा घाटमा बिहानदेखि रातिसम्म नदीजन्य पदार्थ उत्खनन भइरहेको स्थानीयले बताए । कानुनले टेण्डर बिनाको उत्खननलाई पूर्ण रूपमा निषेध गरे पनि व्यवहारमा भने नदी दोहन नियन्त्रण बाहिर गएको गम्भीर आरोप लागेको छ ।
फतुवा विजयपुर नगरपालिकामा नदी ठेक्का सम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन मेयर गोपाल राय यादव दोषी ठहर भएपछि टेण्डर प्रक्रिया अलपत्र परेको बताइन्छ । कार्यवाहक मेयर अम्बेया खातुनले हालसम्म नयाँ प्रक्रिया अघि बढाउन नसकेको स्थानीयको आरोप छ । उता गुजरामा पनि पछिल्ला दुई वर्षदेखि टेण्डर नखुल्दा नदी क्षेत्र ‘खुला कमाइको स्रोत’ बनेको स्थानीयको कथन छ ।
स्रोतका अनुसार अवैध रुपमा भईरहेका उत्खननमा संलग्न ट्रेक्टर व्यवसायीले विभिन्न सुरक्षा निकायलाई मासिक रकम बुझाउने गरेका छन् । इलाका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बेस क्याम्प विजयपुर लक्ष्मिनियामा प्रति ट्रेक्टर मासिक ४ हजार रुपैया सम्म तथा अन्य प्रहरी चौकी र सशस्त्र पोस्टमा छुट्टै रकम बुझाइने गरिएको आरोप लागेको छ । रकम बुझाएकै कारण प्रहरी कार्यालय अगाडिबाटै नदीजन्य पदार्थ बोकेका ट्रेक्टर निर्वाध रूपमा ओहोरदोहोर गर्ने गरेको स्थानीय समाजसेवी मैनुदिन अन्सारीको दाबी छ ।
केही जनप्रतिनिधि स्वयंले आफ्नै ट्रेक्टर प्रयोग गरेर उत्खननमा संलग्न रहेको तथा केहीले आर्थिक लाभ लिएर मौन समर्थन गरिरहेको अवस्था छ । नदी संरक्षण र राजस्व व्यवस्थापन गर्ने निकाय नै विवादमा मुछिँदा अवैध कारोबारी थप हौसिएको अन्सारीको आरोप छ ।
नदी अनुगमन तथा नियन्त्रणको जिम्मेवारी पाएको जिल्ला समन्वय समिति रौतहट माथि समेत निष्क्रिय बनेको आरोप लागेको छ । नियमनकारी निकायको बेवास्ता र सुरक्षा निकायको कथित संरक्षणकै कारण लालबकैया नदी क्षेत्रबाट दैनिक सयौं ट्रेक्टर नदीजन्य पदार्थ ढुवानी भइरहेको स्थानीयको गुनासो छ । विभिन्न स्थानमा ठूलो परिमाणमा गिटी, बालुवा र बोल्डरको अवैध भण्डारण समेत गरिएको बताइएको छ ।
यसैबीच समनपुर घाटस्थित बागमती पुल अत्यधिक भार बोकेका टिपर तथा अवैध उत्खननका कारण जोखिममा परेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । पुलको क्षमताभन्दा बढी भार बोकेका सवारी सञ्चालन हुँदा पुल कमजोर बन्दै गएको र सडक समेत क्षतिग्रस्त हुन थालेको उनीहरूको भनाइ छ ।
स्थानीयले तत्काल प्राविधिक परीक्षण, नदी उत्खनन नियन्त्रण तथा दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । उनीहरूका अनुसार नदीको अनियन्त्रित दोहनले वातावरणीय सन्तुलन मात्रै होइन, खेतीपाती, सडक संरचना र जनजीवनमै प्रत्यक्ष असर पार्न आशंका व्यक्त गर्न थालिएको छ ।
यस विषयमा दिनेश सागर भुषालले नदी अनुगमन तथा कारबाहीको अधिकार जिल्ला समन्वय समितिसँग रहेको बताए । पूर्वी क्षेत्रमा बागमती नदी र चाँदी नदी तथा पश्चिम क्षेत्रमा लालबकैया नदीमा अवैध उत्खननबारे गुनासो आएको स्वीकार गर्दै उनले केही दिनभित्र स्थलगत अनुगमन गरिने जानकारी दिए ।
त्यसैगरी प्रदेश प्रहरी प्रमुख गोबिन्द थपलिया र सशस्त्र प्रहरीका डिआइजी कृष्ण ढकालले अवैध उत्खनन तथा ढुवानी नियन्त्रण गर्न जिल्लाका सुरक्षा प्रमुखलाई निर्देशन दिइएको तथा घटनामा प्रहरीकै संलग्नता भेटिए कारबाही गरिने चेतावनी दिए ।
तर स्थानीयको प्रश्न अझै उस्तै छ — “अनुगमन र निर्देशन मात्रै कि अब साँच्चिकै कारबाही पनि हुन्छ ?” आउदो समयले देखाउने छन् ।

सर्लाही बरहथवा नगरपालिकामा भईरहेका चरम उत्खखनको नमूना बन्दै वागमती नदी ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन