सर्लाही, १६ जेठ । अन्धोपन न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको बृहत् आँखा उपचार महाअभियान अन्तर्गत हरिवनमा आज ३२ जना विरामीको आँखामा मोतिविन्दुको सफल शल्यक्रिया भएको छ ।
तीन दिन देखि जारी रहेको उक्त शिविरमा आज सम्म १०६ जना मोतिबिन्दुका बिरामीको सफल शल्यक्रिया गर्ने कार्य सम्पन्न भएको हो ।
“हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी—आँखा सेवामा सबैको साझेदारी” भन्ने मूल नारा सहित नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित गौर आँखा अस्पतालले समुदायस्तरमा निःशुल्क तथा गुणस्तरीय आँखा सेवा प्रदान गर्दै आएका छन् ।
सोही महाअभियान अन्तर्गत रुइत फाउण्डेशनको आर्थिक सहयोग तथा हरिवन नगरपालिकाको विशेष पहलमा छनोट गरिएका १३६ जना मोतिबिन्दुका बिरामी मध्ये आज थप ३२ जनाको सफल शल्यक्रिया गरिएको अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
संयोजक पाण्डेयका अनुसार विगत तीन दिनमा कुल १०६ जना बिरामीको मोतिबिन्दु शल्यक्रिया सफलता पूर्वक हुनुका साथै आँखा सम्बन्धी विभिन्न समस्या भएका बिरामीलाई आवश्यक औषधि तथा विशेषज्ञ परामर्श सेवा समेत निःशुल्क उपलब्ध गराइएको छ ।
महाअभियान अन्तर्गत सञ्चालन गरिएको स्वास्थ्य परीक्षण, उपचार तथा शल्यक्रिया कार्यक्रममा नेत्ररोग विशेषज्ञ डा. सुरेन्द्र मिश्र, आँखा उपचार केन्द्र हरिवनका इन्चार्ज राजु राय यादव सहित करिब २० जना स्वास्थ्यकर्मी तथा सहयोगीहरूको सक्रिय सहभागिता रहेको थियो ।
“स्वस्थ दृष्टि, उज्ज्वल भविष्य” को लक्ष्य सहित सञ्चालन भइरहेको यस अभियानले समुदायमा आँखा स्वास्थ्य प्रति जनचेतना अभिवृद्धि गर्नुका साथै हजारौं नागरिकलाई निःशुल्क आँखा परीक्षण, उपचार, औषधि, चश्मा तथा शल्यक्रिया सेवा प्रदान गर्दै आइरहेको अस्पतालले जनाए ।
स्थानीयवासीले पनि निःशुल्क रूपमा विशेषज्ञ सेवा प्राप्त भएपछि अभियानको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन