रौतहट, १७ जेठ । अन्धोपन न्यूनीकरण तथा गुणस्तरीय आँखा सेवा गाउँ–गाउँ सम्म पुर्याउने उद्देश्यले गौर आँखा अस्पतालले सञ्चालन गरिरहेको महाअभियान राजदेवी नगरपालिकाको ब्रह्मपुरीमा बृहत् निःशुल्क आँखा शिविरबाट २९५ जना लाभान्वित भएका छन् ।
नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित गौर आँखा अस्पतालले “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी– आँखा सेवामा सबैको साझेदारी” भन्ने मूल नाराका साथ सञ्चालन गरेको अभियान अन्तर्गत माध्यमिक विद्यालय, ब्रह्मपुरीमा शिविर आयोजना गरिएका हुन् ।
शिविर डाँक फाउण्डेशनको आर्थिक सहयोग, समाजसेवी तथा युवा अभियन्ता नवीनकुमार सिंहको विशेष पहल तथा विद्यालयको आयोजनामा एक दिने निःशुल्क आँखाको परिक्षण शिविर सम्पन्न भएको गौर आँखा अस्पताल पुरेनवाले जनाए ।
अस्पतालबाट खटिएको प्राविधिक टोलीले शिविरमा व्यापक रूपमा आँखा परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरे । टोलीमा अर्चना सिंह, अशोक कुमार पासवान, सत्येन्द्र पाण्डे, गोमा न्यौपाने, शिवशंकर महतो, गौरी राउत लगायत ९ जना स्वास्थ्यकर्मी सहभागी रहेका थिए ।
शिविरमा १६७ महिला र १२८ पुरुष गरेर २९५ जनाको आँखा परीक्षण गरियो । परीक्षणका क्रममा ५८ जनालाई चश्मा आवश्यक रहेको सिफारिस गरिएको, १६८ जनालाई औषधि वितरण गरिएको तथा ६२ जनाको आँखामा मोतिबिन्दु रोग पहिचान गरिएको छ ।
पहिचान भएका सबै मोतिबिन्दुका बिरामीको गौर आँखा अस्पतालमा अस्पतालकै खर्चमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको छ । यसले आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।
अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेका अनुसार महाअभियान अन्तर्गत आगामी दिनहरूमा पनि यस्तै नमूना बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गरिनेछ । यसैक्रममा जेठ २३ गते गौर नगरपालिकाको विशेष पहलमा श्री जुद्ध माध्यमिक विद्यालय, गौरमा आँखा परीक्षण, परामर्श, औषधि तथा चश्मा वितरण सँगै मोतिबिन्दुको निःशुल्क शल्यक्रिया सेवा सहितको विशेष शिविर आयोजना गरिने कार्यक्रम रहेको बताए ।
उक्त शिविरबाट अधिकतम लाभ लिन नगरवासीको अधिकाँश सहभागिताका लागि अनुरोध गरिएको छ ।
आज सम्पन्न भएको शिविरको अनुगमन तथा सफल सञ्चालनमा राजदेवी नगरपालिकाको पूर्व मेयर धिरेन्द्र कुमार सिंह, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार सिंह, नेपाल नेत्र ज्योति संघ रौतहटका सचिव बच्चा प्रसाद यादव तथा वरिष्ठ लेखा अधिकृत पवनकुमार न्यौपाने, सशस्त्र प्रहरी विओपी वेलविछवाका प्रहरी निरीक्षक दीपेन्द्र बोहरा, नेपाल प्रहरीका प्रसनी नवलकिशोर प्रसाद यादव, स्वास्थ्य संयोजक रामकान्त यादव, लगायतको सक्रिय सहभागिता र सहयोग रहेको संयोजक पाण्डेले जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन