सर्लाही, २० जेठ । सर्लाहीको धनकौल गाउँपालिका–१ सेखौना स्थित श्री आधारभूत विद्यालयमा बहुप्रतीक्षित ४ कोठे नयाँ भवन निर्माणको लागि शिलान्यास गरिएको छ ।
गाउँपालिका अध्यक्ष रामाश्रय साहले आज आयोजित एक समारोहका बीच शिलान्यास गरेको हो ।
संघीय सरकारको सशर्त अनुदान अन्तर्गत प्राप्त ७० लाख रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको स्थानीय समाजसेवी युवा दीपेन्द्र साहले जानकारी दिए । नयाँ भवन निर्माण सँगै लामो समयदेखि भौतिक पूर्वाधारको अभाव झेल्दै आएको विद्यालयको शैक्षिक वातावरणमा सुधार आउने अपेक्षा गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक राजेश कुमार सिंहका अनुसार विद्यालयमा कम्तीमा ९ वटा कक्षाकोठा आवश्यक रहे पनि हाल ७ वटा मात्रै कोठा छन् । ती मध्ये दुई वटा जीर्ण अवस्थामा रहेका छन् भने वर्षायाममा छानाबाट पानी चुहिने समस्याले पठनपाठन नै प्रभावित हुँदै आएको छ ।
कक्षाकोठा अभावका कारण एउटै कोठामा दुई वटा कक्षाका विद्यार्थीलाई राखेर पढाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै प्रधानाध्यापक सिंहले नयाँ भवन निर्माण पछि विद्यालयको शैक्षिक व्यवस्थापन सहज हुने विश्वास व्यक्त गरे ।
शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रामाश्रय साहले शिक्षा क्षेत्रलाई स्थानीय सरकारको उच्च प्राथमिकतामा राखिएको बताए । उनले विद्यालय भवनको मर्मत, सम्भार तथा पुनर्निर्माण कार्यलाई निरन्तरता दिइने उल्लेख गर्दै सीमित स्रोत–साधनका बाबजुद गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले सक्दो प्रयास गरिरहेको बताए ।
नयाँ भवन निर्माणसँगै विद्यार्थीले सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसर पाउने तथा विद्यालयको शैक्षिक गुणस्तर सुधारमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन