रौतहट, २१ जेठ । जीवनभरको मेहनतले जोडेको सम्पत्ति सन्तानकै नाममा गरेपछि वृद्धावस्थामा आमाबुवाले कस्तो पीडा भोग्नुपर्छ भन्ने दर्दनाक उदाहरण रौतहटको राजपुर नगरपालिका–८ हजमिनियामा देखिएको छ ।
आफ्नै छोरामाथि विश्वास गरेर जग्गाजमिन नामसारी गरिदिएका एक वृद्ध दम्पती आज न्यायको खोजीमा गाउँदेखि सदरमुकामसम्म भौतारिन बाध्य भएको हो ।
हजमिनिया गाउँका हफि महम्मद अन्सारी र उनकी पत्नी रोजैदा खातुनले आफ्नो एक छोरा र दुई छोरीमध्ये जेठा छोरा शाह महम्मद अन्सारीलाई विश्वास गरेर घरसहितको ९ धुर जग्गा दुई चरणमा पास गरिदिए ।
तर सम्पत्ति आफ्नो नाममा भएपछि छोरा परिवारबाट टाढिँदै गएर ससुराली गाउँ गढीमाई नगरपालिका–स्थित गम्हरियामा बस्न थालेको र अहिले वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेको उनीहरूको गुनासो छ ।
वृद्ध अन्सार दम्पतीका अनुसार बुहारी र नातिनातिना पनि माइतीमै बस्दै आएका छन् । अब आफूहरू बसोबास गर्दै आएको घरसहितको बाँकी जग्गा समेत बिक्री गर्ने तयारी भइरहेको जानकारी पाएपछि उनीहरू थप चिन्तित बनेका छन् । “बुढेसकालमा सहारा बन्नुपर्ने छोरा नै सम्पत्ति लिएर टाढिएपछि हामी न्यायको खोजीमा हिँड्न बाध्य भएका छौं,” अन्सारी दम्पतीले भावुक हुँदै भने ।
शारीरिक रूपमा कमजोर भइसकेका हफि महम्मद अन्सारीले युवावस्थामा मजदुरी गरेर परिवार पालेको स्मरण गर्दै अहिले उमेर ढल्किएपछि काम गर्न नसक्ने अवस्था रहेको बताए । “पहिले हातखुट्टा चल्थ्यो, मेहनत गर्थें । अहिले शरीरले साथ दिँदैन । खान लाउनकै समस्या भएको छ,” उनले दुःखेसो पोखे ।
उनकी जेठी छोरी भारतको बैरगनिया स्थित सिन्दुरियामा बस्दै आएकी छन् । कहिलेकाहीँ उनले पठाइदिने खाद्यान्न र सहयोगकै भरमा वृद्ध दम्पती तथा २० वर्षीया कान्छी छोरीको गुजारा चलिरहेको छ । आर्थिक अभावका कारण कान्छी छोरीको विवाहसमेत गराउन नसकेको अन्सारीले बताए ।
न्यायको आशामा पत्रकार खोज्दै गौर पुगेका अन्सारीले आफ्नो पीडा सम्बन्धित निकाय र देशको नेतृत्वसम्म पुर्याइदिन आग्रह गरेका छन् । “हाम्रो आवाज माथि सम्म पुगोस, न्याय मिलोस् । बुढेसकालमा घरबारविहीन हुने अवस्था नआओस्,” उनले भने ।
चर्को गर्मीका बीच न्यायको खोजीमा कार्यालय–कार्यालय धाउनुपरेको भन्दै अन्सारी दम्पतीले आफूहरूले भोगिरहेको पीडालाई शब्दमा व्यक्त गर्न नसकिने बताए । “सबै जना शीतल छहारीमा बसिरहेका बेला हामी न्यायको लागि भौतारिरहेका छौं । साँझ घर फर्किँदा पनि मनमा डर र चिन्ता मात्रै हुन्छ,” उनीहरूको भनाइ छ ।
अन्सारी दम्पत्तको घटनाले सम्पत्तिको लोभमा पारिवारिक सम्बन्ध कमजोर बन्दै गएको र वृद्ध आमाबुवाको अधिकार तथा सुरक्षा प्रति समाज र राज्य दुवैले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ । वृद्ध दम्पतीको न्यायको पुकार अब सम्बन्धित निकायले यथोचित रुपमा सम्बोधन गर्न जरुरी देखिन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन