रौतहट, ३० जेठ । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित गौर आँखा अस्पतालले आफ्नो महाअभियान अन्तर्गत एकै दिन तीन फरक–फरक स्थानमा बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गरी ५०० भन्दा बढी नागरिकलाई सेवा प्रदान गरेका छन् ।
बालबालिका देखि लिएर ज्येष्ठ नागरिक सम्मलाई लक्षित गरी सञ्चालन गरिएको उक्त महाअभियानबाट ठूलो संख्यामा स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित भएका हुन् ।
सेवा फाउन्डेसनको सहयोगमा निजी तथा सामुदायिक विद्यालयहरू बाट छनोट गरिएका बालबालिकालाई लक्षित गरी विशेष आँखा परीक्षण कार्यक्रम सञ्चालन गरियो ।
गौर आँखा अस्पतालमा आयोजित उक्त कार्यक्रममा नेत्र अधिकृत शिवकुमार यादव, दृष्टि विशेषज्ञ पूनम यादव सहित करिब १५ सदस्यीय प्राविधिक टोलीले बालबालिकाको आँखा परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण गरे ।
परीक्षणका क्रममा दृष्टिदोष पहिचान भएका ८३ जना बालबालिकालाई निःशुल्क चश्मा वितरण गरिएको अस्पतालले जनाए । विशेषज्ञहरूका अनुसार समयमै दृष्टिदोषको पहिचान र उपचारले बालबालिकाको अध्ययन तथा दैनिक जीवनमा सकारात्मक प्रभाव पारेको छ ।
यसैगरी डाक फाउन्डेसनको सहयोगमा यमुनामाई गाउँपालिका–४ स्थित श्री जनता माध्यमिक विद्यालय, सरुअठा तथा मौलापुर नगरपालिका अन्तर्गत मा.वि. पथराबुधराम क्षेत्रमा ज्येष्ठ नागरिक लक्षित बृहत् आँखा शिविर सञ्चालन गरियो ।
अस्पतालकी नेत्र अधिकृत विनीता केशरी, अशोक पासवान, अर्चना सिंह लगायत १२ सदस्यीय प्राविधिक टोलीले ४२३ जना ज्येष्ठ नागरिकलाई आँखा परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरे ।
शिविरका क्रममा मोतियाबिन्दु पुष्टि भएका ६८ जना बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि छनोट गरिएको छ । अस्पतालका अनुसार छनोट भएका बिरामीलाई अस्पताल सम्म ल्याउने, शल्यक्रिया पछि पुनः घरसम्म पुर्याउने तथा सम्पूर्ण उपचार खर्च अस्पतालकै योजना अन्तर्गत निःशुल्क रूपमा व्यहोर्ने व्यवस्था गरिएको छ ।
ती बिरामीहरूको गौर आँखा अस्पतालमा विशेषज्ञ चिकित्सकको टोलीद्वारा लेन्ससहित निःशुल्क मोतियाबिन्दु शल्यक्रिया गरिने भएको छ ।
अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेयले शल्यक्रिया देखि घर फर्काउने व्यवस्था सम्म सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराइने बताउँदै यस्ता महाअभियानले ग्रामीण तथा विपन्न समुदायमा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गरे ।
गौर आँखा अस्पताल प्रशासनले अभियानलाई प्रभावकारी बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी निकाय, दातृ संस्था, समाजसेवी तथा स्वयंसेवकहरू प्रति आभार व्यक्त गरे ।
अस्पतालका प्रशासक नागेश्वर प्रसाद चौधरीले महाअभियानलाई सफल बनाउन अहोरात्र खटिने कर्मचारी, सेवा फाउन्डेसन, डाक फाउन्डेसन, सहयोगी दातृ निकाय, समाजसेवी तथा सञ्चारकर्मी प्रति विशेष धन्यवाद ज्ञापन गरे ।
उनले सञ्चारमाध्यम र सञ्चारकर्मीबाट प्राप्त सहयोग अमूल्य, प्रशंसनीय र प्रेरणादायी रहेको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सहकार्यबाट आँखा सेवालाई अझ प्रभावकारी, जनमुखी र पहुँचयोग्य बनाउने प्रतिबद्धता व्यक्त गरे ।
“हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी — आँखा सेवामा सबैको साझेदारी” भन्ने मूल नारा सहित गौर आँखा अस्पतालले सञ्चालन गरिरहेको महाअभियान वर्षभरी निरन्तर जारी रहने जनाए ।




बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन