काठमाडौं, २२ पुस । नेकपा माओवादी केन्द्रको सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकाहरु परिवारवाद बढी हावी भएको देखिन्छ । पार्टी अध्यक्ष प्रचण्ड भएपनि पार्टीमा पकड बलियो जनार्दन शर्माको रहयो ।
पार्टी अध्यक्षमा पुष्पकमल दहाल प्रचण्डका परिवारका चार जना सदस्यलाइ समेटिए पनि अर्थ मन्त्री जनार्दन शर्माको पार्टीमा पकड बलियो रहेका हुन् ।
महाधिवेशन अघि माओवादीको संगठन विभाग प्रमुख रहेका महासचिवका सशक्त दाबेदार शर्माको परिवारका चार सदस्य केन्द्रीय सदस्य चयन हुँदा कर्णाली प्रदेश अध्यक्ष पनि शर्माकै परिवारले नै पाएको छ । अर्थमन्त्री शर्मा सहित सहोदर भाइ अनिल शर्मा र बहिनी नारायणी शर्मा केन्द्रीय सदस्य चयन भएका हुन् । त्यस्तै बहिनीज्वाइँ ओमनाथ ढुंगाना (ओम शर्मा) विगत देखि नै केन्द्रीय सदस्य थिए ।
भाइबुहारी विमला केसी कर्णाली प्रदेश कमिटीको अध्यक्ष छिन् भने शर्माका नजिकका नातेदार (भाइ) रुकुमपश्चिमका जिसस प्रमुख राजकुमार शर्मा र नजिक नाताका जगप्रसाद शर्मा पनि केन्द्रीय सदस्यमा चयन भएका छन् ।
जनार्दन परिवारबाटै ठूलोबुबाका छोरा वसन्त शर्मा र माइलो बुबाकी छोरी लुम्बिनी गौतम पनि केन्द्रीय समितिमा समेटिएका छन् । शर्माका अर्का भाइ उपेन्द्र शर्मा पनि राजनीतिमा क्रियाशील युवा हुन् । तर, उनी सरकारी स्वामित्व राससको महाप्रबन्धक भएकाले पार्टीको महाधिवेशन प्रतिनिधि मात्र भए ।
कान्छा भाइ अनिल शर्माले भने माओवादी पंक्तिमा छलाङ मारेका छन् । उनीभन्दा सिनियर अनेरास्ववियू क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल र उनलाई अध्यक्षमा पराजित गरेका रन्जित तामाङ केन्द्रीय समितिमा छुट्दा शर्मा भने केन्द्रीय सदस्य बन्न सफल भए ।
प्रचण्डको स्वकीय सचिव समेत रहेका सिनियर नेता मल्ल र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रन्जित तामाङलाई छुटाएर शर्मालाई केन्द्रीय सदस्य बनाइए पछि माओवादी युवा पंति भने असन्तुष्ट बनेको छ ।
पार्टी राजनीतिमा वर्षमान पुन निकट मानिएका युवाहरूलाई छुटाइएको भन्दै विरोध भएको हो । पुन उपचारका क्रममा चीनमा छन् । यसबीचमा जनसंगठनहरूको महाधिवेशनबाट निर्वाचित मुख्य नेतृत्वमा पनि शर्मा निकटले बाजी मार्न सफल भएका छन् ।