इज्जत प्रतिष्ठाको लागि बाबुआमाद्धारा आफनै छोरीको हत्या गराएको रौतहट प्रहरीको निश्कर्ष

रौतहट, १४ मंसिर । इज्जत, प्रतिष्ठा जाने डर र समाजमा अपहेलित जिवन व्यतित गर्नुपर्ने कारणबाट बाबु आमा योजनामा १७ बर्षिया छोरीलाई गोली हानेर हत्या गराइएको रौतहट प्रहरीको अनुसन्धानबाट खुलेका छन् ।
रौतहटको माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहा टोल बस्ने रामअयोध्या साह तेलीको १७ बर्षिया छोरी अमृता कुमारी साहलाई माइती घरमै गत कार्तिक २६ गते साढे ११ बजे रातिको समयमा बाबुआमाको योजना अनुसार दाहिने कन्चटमा गोली हानी हत्या गराइएको प्रहरी अनुसन्धानबाट खुलेका हुन् ।
जिल्ला प्रहरी कार्यालय गौरमा आईतवार आयोजित पत्रकार सम्मेलन मार्फत उक्त घटनाको सार्वजनिक गर्दै एसपी सिद्धीविक्रम शाहले अमृता र सोही स्थानका ३० बर्षिय सोसिन्द्र प्रसाद भगत संग विगत ३ बर्ष देखि प्रेम सम्बन्ध रहेको भएपनि परिवारको दवावमा २०७६ साल फागुन महिनामा सर्लाही जिल्ला विष्णुपुर गाउँपालिका ३ मानकी साहको छोरा रुपेश साह संग मागि विवाह भएकोमा अमृताले प्रेमी संग मिलेर श्रीमान माथि छुरा प्रहार गराएर मार्ने प्रयास गरेका थिए ।
रुपेश माथि छुरा प्रहार भएपछि अमृतालाई माइती घर फिर्ता पठाएर गत असार महिनामा सम्बन्ध विच्छेद भएको र सम्बन्ध विच्छेद भएपश्चात श्रीमान पक्षबाट मृतक अमृता र निजको प्रेमी सोसिन्द्र प्रसाद भगत माथि ज्यान मार्ने उद्योग मुद्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दर्ता भएका थिए । अमृता र सोसिन्द्र विचको प्रेम सम्बन्ध बुवा आमा तथा घरका अन्य सदस्यालाई स्वीकार्य नरहेको प्रहरीको अनुसन्धानबाट खुलेको एसपी शाहले पत्रकार सम्मेलनमा जानकारी गराए ।
समाजमा इज्जत प्रतिष्ठा जाने र अपहेलित जिवन विताउनु पर्ने सोचेर वुवा रामअयोध्या र गौर नपा ६ सपगढा बस्ने ज्वाई लक्ष्मण साहले अमृतालाई हत्या गर्न योजना बनाए । सो योजना अनुसार परोहा नगरपालिका ४ का छोटेलाल साहलाई डेढ लाख रुपैयामा भारतमा उपचारको बहानामा लगेर हत्या गर्ने तय गरियो । भारत विहारमा विधान सभाको निर्वाचनको कारण त्यहाँ योजना सफल हुनु अगावै अमृता भागेर पुन माईती घर आएको एसपी शाहले बताए । पहिलो योजना विफल भएपछि पुन ः रामअयोध्या र ज्वाई लक्ष्मणले अर्को योजना बनाए । देवाही गोनाही नगरपालिका २ करुनियाका कैमुल देवान, शेख अलियास, बहुदल भन्ने इस्लाम अन्सारी, शेख इम्ताजलाई १ लाख रुपैयामा हत्या गर्ने योजना अनुसार कार्तिक २६ गते राति अमृताको हत्या गराइएको पक्राउ परेका अभियुक्तहरु बयान दिएको उनले भने ।
प्रहरी नियन्त्रणमा रहेका मृतक अमृताको वुवा रामअयोध्या, आमा सितादेवी साह, शेख अलियास, इसलाम अन्सारी, शेख इम्ताज, छोटेलाल सहित ६ जनालाई जिल्ला अदलात रौतहटबाट ज्यान सम्बन्धी कसुरमा आईतवार सात दिनको म्याद थप लिएर अनुसन्धान भईरहेको जानकारी दिदै एसपी शाहले हत्या गर्ने कैमुल देवानलाई पत्रकार सम्मेलन चल्दै गरेको समय ३.३० बजेको समयमा सर्लाहीको मलंगवाबाट प्रहरीले नियन्त्रणमा लिएको छ भने लक्ष्मण साह फरार रहेको हुँदा दुवै जनाको व्यापक खोजी कार्य जारी रहेको बताए ।
कोभिडको कारण ज्यान सम्बन्धी अपराधमा अलि वृद्धि भएपनि समग्र रुपमा गत बर्षको तुल्नात्मक अवस्थामा रौतहटमा क्रमिक रुपमा अपराध घट्दै गरेको बताए । समाजमा शान्ति सुरक्षा सुदृढ पार्न प्रहरी २४ सौं घण्टा खटिरहेको हुँदा आम जनताको सहयोग सहकार्य भएमा रौतहटलाई अपराध मुक्त जिल्ला बनाएर छाड्ने प्रतिबद्धता एसपी शाहले जनाए ।