ओमप्रकाश यादव
रौतहट, १४ असार । रौतहटको माधवनारायण नगरपालिका–४ बिशुनपुर्वा मानपुरमा करिब दुई करोडको लागतमा पूर्वाधार विकासका दुई महत्वपूर्ण योजना एकैसाथ अघि बढाइएका छन् ।
सडक ढलान र नयाँ स्वास्थ्य चौकी भवन निर्माण सुरु भएपछि स्थानीयवासी उत्साहित बनेका हुन् ।
नगर प्रमुख बैजनाथ प्रसाद यादवको सक्रिय पहलमा ४० लाखको लागतमा मुख्य सडक ढलान तथा १ करोड ५० लाखको लागतमा नयाँ स्वास्थ्य चौकी भवन निर्माणको काम अघि बढाइएको छ ।
आइतबार नगर प्रमुख यादवले बिशुनपुर्वा मानपुरको मुख्य सडक ढलान योजनाको शिलान्यास गरे । उक्त योजना नगर प्रमुख यादवको पहल तथा नेपाली कांग्रेसबाट वडा अध्यक्षका प्रत्याशी अजयकुमार चौधरीको विशेष समन्वयमा अघि बढाइएको जनाए ।
चौधरीका अनुसार वर्षौंदेखि कच्ची रहेको सडकमा गर्मीयाममा अत्यधिक धुलो र वर्षायाममा हिलोका कारण स्थानीयले आवतजावतमा सास्ती खेप्दै आएका थिए । सडक ढलान सम्पन्न भएपछि यातायात सहज हुनुका साथै गाउँको स्वरूप समेत परिवर्तन हुने अपेक्षा गरिएको छ ।
यसैबीच, बिशुनपुर्वा मानपुर स्वास्थ्य चौकीका लागि १ करोड ५० लाखको लागतमा नयाँ भवन निर्माण कार्य पनि सुरु भएको छ । हाल भवनको जग खन्ने काम भइरहेको छ । वर्षौंदेखि जीर्ण भवनबाट सेवा दिँदै आएको स्वास्थ्य चौकी नयाँ भवनमा सञ्चालन भएपछि स्थानीयले थप व्यवस्थित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास गरिएको नगर प्रमुख यादवले बताए ।
स्थानीयवासीका अनुसार नगर प्रमुख यादव निर्वाचित भएपछि वडामा विकास निर्माणका कामले उल्लेखनीय गति लिएको छ । एकपछि अर्को पूर्वाधार विकासका योजना कार्यान्वयनमा आएपछि बिशुनपुर्वा मानपुरमा वर्षौंदेखिका समस्या क्रमशः समाधान हुन थालेको र विकासप्रति नागरिकको आशा बढेको उनीहरूको भनाइ छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन