काबुल । पाकिस्तानले अफगानिस्तानका विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा परेर कम्तीमा ३६ सर्वसाधारणको मृत्यु भएको छ भने १६० भन्दा बढी घाइते भएका छन् ।
अफगानिस्तानी अधिकारीहरूले आक्रमणलाई सर्वसाधारण माथिको “बरबर एवं क्रूर हमला” भएको संज्ञा दिदै कडा शब्दमा निन्दा गरेका हुन् ।
गत आइतबार राति पाकिस्तानले अफगानिस्तानका पक्तिया, पक्तिका र कुनार प्रान्तमा हवाई आक्रमण गरेका थिए ।
पाकिस्तानका सञ्चारमन्त्री अताउल्लाह तरारका अनुसार अफगान भूमिबाट सक्रिय सशस्त्र समूहहरूले पाकिस्तानमा गरेका लगातारका आक्रमणको जवाफ स्वरूप उक्त सैन्य कारबाही गरिएको छ ।
यो आक्रमण केही दिनअघि पाकिस्तानको कराँची स्थित अर्धसैनिक बल रेन्जर्सको क्षेत्रीय मुख्यालयमा माथि भएको हमलाको बदला स्वरुप रहेको बताइएको छ । उक्त घटनामा तीन सैनिकको मृत्यु भएको थियो ।
पाकिस्तानी सुरक्षा बलले तीन आक्रमणकारीलाई घटनास्थलमै मारेको र एक जनालाई घाइते अवस्थामा पक्राउ गरेको जनाए । पाकिस्तानले ती आक्रमणकारी अफगान नागरिक भएको दाबी गर्दै आएको छ ।
कराँची आक्रमणको जिम्मेवारी पाकिस्तानी तालिबान (टीटीपी) बाट अलग भएको जमात–उल–अहरार समूहले लिएको थियो । पाकिस्तानले टीटीपीलाई अफगानिस्तानको तालिबान सरकारले संरक्षण र सहयोग गरिरहेको आरोप लगाउँदै आएको छ । यद्यपि अफगानिस्तानले उक्त आरोप निरन्तर अस्वीकार गर्दै आएको छ ।
अफगानिस्तानको तालिबान सरकारका सहायक प्रवक्ता हमदुल्लाह फित्रतका अनुसार पक्तिया प्रान्तको चामकानी जिल्लामा पाकिस्तानी सेनाले एउटा घरलाई निशाना बनाउँदा एक वृद्ध र एक बालकको मृत्यु भएको तथा परिवारका अन्य सदस्य घाइते भए ।
उनका अनुसार घाइतेहरूको उद्धारका लागि स्थानीय बासिन्दा भेला भएका बेला सोही क्षेत्रमा पुनः हवाई आक्रमण गरिएको थियो, जसमा कम्तीमा २८ गाउँलेको मृत्यु भएको र १५८ जना घाइते भएका छन् ।
त्यसैगरी पक्तिका प्रान्तको जियान जिल्लामा अर्को घरमा भएको आक्रमणमा महिला र बालबालिका सहित ६ जनाको ज्यान गएको बताइएको छ । कुनार प्रान्तमा भएको अर्को आक्रमणमा मानवीय क्षति नभए पनि करिब ३० वटा चौपाया मारिएका छन् ।
पाकिस्तानले तीन साता अघि पनि अफगानिस्तानमा यस्तै हवाई आक्रमण गरेको थियो । फेब्रुअरी २१ मा पाकिस्तानले अफगानिस्तानसँग खुला युद्ध सुरु भएको घोषणा गरेको थियो । युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायबाट प्रयास भइरहे पनि उल्लेखनीय सफलता हासिल हुन सकेको छैन । गत अप्रिलमा चीनको मध्यस्थतामा दुवै पक्ष वार्तामा बसे पनि तनाव र सैन्य कारबाही रोकिएको छैन ।
पाकिस्तानको अफगानिस्तानमाथिको हवाई आक्रमणको भारतद्वारा कडा निन्दा
नयाँ दिल्ली । भारतले अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणको कडा निन्दा गर्दै उक्त घटनामा ज्यान गुमाएका निर्दोष नागरिकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
भारतले पाकिस्तानको सैन्य कारबाहीलाई अफगानिस्तानको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको प्रत्यक्ष उल्लंघन भएको भन्दै यसले दक्षिण एसियाको शान्ति तथा क्षेत्रीय स्थिरतामा गम्भीर खतरा उत्पन्न गरेको जनाएको हो ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पाकिस्तानको हवाई आक्रमणमा महिला र बालबालिका सहित धेरै सर्वसाधारण नागरिकको ज्यान गएको उल्लेख गर्दै त्यसको कडा शब्दमा भत्र्सना गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “अफगानिस्तानको भूमिमा पाकिस्तानले गरेको हवाई आक्रमणको भारत कडा निन्दा गर्दछ । उक्त आक्रमणमा महिला र बालबालिकासहित धेरै निर्दोष नागरिकको मृत्यु भएको छ ।”
भारतले पाकिस्तानको पछिल्लो कदमले उसको “गैरजिम्मेवार व्यवहार“ झल्काउने दाबी गर्दै आफ्ना आन्तरिक असफलताबाट जनध्यान मोड्न इस्लामाबादले यस्ता सैन्य गतिविधिको सहारा लिने गरेको आरोप पनि लगाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन