रौतहट, १८ असार । वैदेशिक रोजगारीका क्रममा ठगी, शोषण तथा प्रक्रियागत जटिलतामा परेका श्रमिक र उनीहरूका परिवारलाई न्याय दिलाउन सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रौतहटमा प्रभावकारी रूपमा अघि बढेको देखिएको छ ।
नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय सहकार्यमा सञ्चालित सामी परियोजनाले विगत पाँच वर्षदेखि सुरक्षित वैदेशिक रोजगारी प्रवद्र्धन, सूचना प्रवाह तथा पीडितलाई न्याय दिलाउने कार्यमा उल्लेखनीय सफलता हासिल गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित चालु आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक समीक्षा बैठकमा सार्वजनिक गरिएको विवरण अनुसार असार १७ गतेसम्म आप्रवासी स्रोत केन्द्रमार्फत ६ हजार १३५ जना सेवाग्राहीलाई सूचना तथा परामर्श सेवा प्रदान गरिएको छ ।
सामी कार्यक्रमकी सूचना तथा परामर्शकर्ता पूजा गिरीका अनुसार आप्रवासी स्रोत उपकेन्द्र मार्फत १ हजार २१८ जनाले प्रत्यक्ष सूचना तथा परामर्श सेवा प्राप्त गरियो । समुदायस्तरीय अभिमुखीकरण कार्यक्रम मार्फत २६७ जनालाई सुरक्षित वैदेशिक रोजगारीबारे जानकारी दिइएको छ भने २ हजार ७१४ जनाले रिटर्नी स्वयंसेवक मार्फत आवश्यक सूचना तथा सचेतना प्राप्त गरेको उनले भनिन ।
जिल्ला कार्यक्रम संयोजक विनयकुमार साहले प्रमुख जिल्ला अधिकारीको मध्यस्थतामा वैदेशिक रोजगार ठगीका उजुरी समाधान गर्दै पीडितलाई ९० लाख ७ हजार ७ सय रुपैयाँ एजेन्टबाट फिर्ता गराउन सफल भएको जानकारी दिए । साथै प्रमुख जिल्ला अधिकारीको कार्यालय मार्फत वैदेशिक रोजगार विभागमा सिफारिस भई समाधान भएका उजुरीमध्ये थप ५ लाख रुपैयाँ पीडितले फिर्ता पाएको उनले बताए ।
त्यसैगरी वैदेशिक रोजगार बोर्डबाट उपलब्ध हुने आर्थिक सहायता प्राप्त गर्न गरिएको सहजीकरणबाट सेवाग्राहीले हालसम्म ३६ लाख ७५ हजार रुपैयाँ आर्थिक सहायता प्राप्त गरेका छन् ।
संयोजक साहका अनुसार रौतहटको माधवनारायण नगरपालिका–दिपही निवासी एक श्रमिकको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएपछि उनका आश्रित परिवारलाई वैदेशिक रोजगार बोर्ड मार्फत ६१ लाख ४५ हजार ८२६ रुपैयाँ राहत उपलब्ध गराइएको छ ।
यद्यपि गौरस्थित सामी कार्यालयमा दर्ता भएका उजुरीमध्ये १७ वटामा संलग्न भनिएका एजेन्टसँग हालसम्म सम्पर्क हुन नसकेको भन्दै उनीहरूको खोजी तथा सम्पर्कको प्रयास निरन्तर जारी रहेको कार्यक्रम संयोजक साहले भने ।
गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहको अध्यक्षतामा सम्पन्न वार्षिक समीक्षा बैठकमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक कुमार बुढाथोकी, सञ्चारकर्मी, सामी कार्यक्रमका पदाधिकारी तथा सामाजिक परिचालकहरूको उपस्थिति रहेको थियो ।
बैठकमा सहभागीहरूले सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारी सुनिश्चित गर्न स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला संस्था बीच अझ प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिए । साथै वैदेशिक रोजगारमा जाने युवालाई सही सूचना, कानुनी प्रक्रिया र सम्भावित जोखिमबारे समयमै सचेत गराउन सामी कार्यक्रमको भूमिका अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरिएको थियो ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन