सर्लाही, १८ असार । सर्लाहीको बसबरिया गाउँपालिका–१ मानपुरमा आफ्नै घरमा सुतिरहेका एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनाको रहस्यलाई सर्लाही प्रहरीले ११ दिनपछि सुल्झाउन सफल भएका छन् ।
प्रहरी अनुसन्धानका क्रममा मोबाइलको विषयमा भएको विवाद, पैसा नदिएको रिस तथा परिवारले सुधार केन्द्र पठाउने तयारी गरेको आक्रोशमा हत्या गरिएका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार सम्मेलन गरी हत्याको आरोपमा बसबरिया गाउँपालिका–१ मानपुरका २५ वर्षीय सन्तोष कुमार रायलाई पक्राउ गरेर सार्वजनिक गरे ।
गत असार ७ गते राति करिब १ः१० बजे आफ्नै घरमा सुतिरहेका ५३ वर्षीय होस नारायण राय यादवमाथि धारिलो हतियार प्रहार भएको थियो । घटनाको जानकारी बिहान १ः४५ बजे इलाका प्रहरी कार्यालय मानपुरमा पुगेपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।
घाँटीको दाहिने भागमा गम्भीर चोट लागेका यादवलाई तत्काल उपचारका लागि बरहथवा नगर अस्पताल लगिए पनि बिहान करिब २ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय बरहथवाका विज्ञ प्राविधिक टोली तथा मधेश प्रदेश प्रहरी कार्यालयको के–९ (डग) टोली परिचालन गरी व्यापक अनुसन्धान सुरु गरिएको थियो ।
घटनास्थलबाट संकलित प्रमाण, कल डिटेल र लोकेसन विश्लेषण (सीडीआर÷बीटीएस), सीसीटीभी फुटेज तथा अन्य प्राविधिक आधारहरूको सूक्ष्म अध्ययन पछि अनुसन्धानले नयाँ मोड लिएको प्रहरीले जनाए ।
प्रारम्भिक सोधपुछका क्रममा मृतकका परिवारका सदस्यहरूले मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले आक्रमण गरेर फरार भएको बताएका थिए । घटनाकै राति वारदातस्थलबाट करिब २००–३०० मिटर दूरीमा पार्किङ गरिएको ना ४५ प २६८५ नम्बरको ग्ल्यामर मोटरसाइकल चोरी भएको सूचना पनि प्रहरीलाई प्राप्त भएको थियो ।
अनुसन्धानकै क्रममा सोही चोरी भएको मोटरसाइकल प्रयोग गरेर सन्तोष कुमार राय घटनास्थल पुगेको र घटनापछि गाउँबाट सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी बेदप्रसाद गौतमले बताए । चोरी भएको मोटरसाइकल असार १४ गते लालबन्दी नगरपालिका–२ नवलपुर स्थित निर्माणाधीन घरअगाडि बेवारिसे अवस्थामा फेला परेको उनले भने ।
मोटरसाइकल बरामद भएपछि प्रहरीले सन्तोषको खोजी तीव्र बनाए । अन्ततः घटना भएको ९ दिन पछि, असार १६ गते दिउँसो बरहथवा नगरपालिका–७ बरहथवा बजार नजिक लुकीछिपी बसेको अवस्थामा स्थानीयवासीको सहयोगमा निजलाई पक्राउ गरिएको डिएसपी गौतमले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक सोधपुछमा सन्तोषले हत्या गरेको स्वीकार गरेका छन् । उनले वारदातअघि मोटरसाइकल चोरी गरी त्यसैको प्रयोग गरेर घटनास्थल पुगेको, हत्या गरेपछि मोटरसाइकलमा भागेर नवलपुरमा छाडेको बयान दिए ।
घटनामा प्रयोग भएको हसिया बरहथवा नगरपालिका–१३ बिनमा टोल नजिक सडकछेउको खेतमा फालिएको भन्ने जानकारी पाए पनि हालसम्म उक्त हतियार बरामद हुन सकेको छैन ।
सन्तोषले असार ६ गते मोबाइलको विषयमा भएको विवाद, आफूले पटक–पटक पैसा माग्दा नपाएको तथा परिवारले सुधार केन्द्र पठाउने तयारी गरेको आवेगमा आएर हत्या गरेको स्वीकार गरेको बताउदै डिएसपी गौतमले घटनापछि आफ्नै परिवारलाई फसाउने उद्देश्य समेत रहेको अनुसन्धानको क्रममा खुलेको छ ।
घटनापछि मृतकका छोरा सुवासकुमार यादवको जाहेरीका आधारमा पोस्टमार्टम प्रक्रिया सम्पन्न गरी शव परिवारलाई जिम्मा लगाइएको थियो । पक्राउ परेका सन्तोष कुमार रायविरुद्ध कर्तव्य ज्यान तथा चोरी सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको डिएसपी गौतमले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन