बाबा बैजुनाथ केमिकल एण्ड सुगर मिल्सले प्रयोगमा ल्याए नेपालमै पहिलो केन हार्वेष्टर मेशिन

तराई टप
रौतहट, २३ पुस । नेपालमै पहिलो पटक “केन हार्वेष्टर” मेशिनबाट उखुको कटिंग एवं लोडिंग गर्ने कार्य रौहटमा शुक्रवार देखि संचालनमा ल्याइएको छ ।
रौतहटको कटहरिया नगरपालिकाको पोखरियामा रहेका बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स मिल्सले भारतको पुणेबाट झिकाइएको केन हार्वेष्टर मेशिनबाट उखुको कटिंग एवं लोडिंग गर्दा किसाहरुलाई लाग्ने लागत खर्चमा कम्तीमा ७० रुपैया प्रति क्यून्टलको बचत हुने भएको बताइएको हो ।
केन हार्वेष्टर मेशिनलाई गढीमाई नगरपालिका वडा नम्वर ६ स्थित वागमती नदीको बगरमा किसानले तयार पारेको उखु खेतमा ल्याएर एक समारोहका विच आज नेपाली काँग्रेस प्रदेश २ का सभापति कृष्णप्रसाद यादवले उदघाटन गरेपछि संचालनमा आएको बताइएको छ । उदघाटन गर्दै नेका प्रदेश २ का सभापति यादवले मजदुर लगाएर उखु काट्ने र त्यसलाई सफाई गरेर सवारी साधनमा लोड गरेर मिल्स सम्म पुर्याउने झन्झटबाट बाबा बैजुनाथ सुगर एण्ड केमिकल मिल्सले नेपालमै पहिलो पटक प्रयोगमा ल्याएको केन हार्वेष्टर मेशिनबाट किसानहरुलाई धेरै सुविधा एवं फायदा पुगेको बताए ।
मिल्सका संचालक बैजु बाबराले एक घण्टामा २०० क्यून्टल सम्म उखु कटिंग गरेर लोडिंग गर्ने क्षमता भएको केन हार्वेष्टर मेशिन नेपालमै पहिलो पटक प्रयोगमा ल्याइएको स्पष्ट पारे । भारतको पुणेबाट झण्डै ९६ लाख भारतीय रुपैयामा नेपाल भित्रयाइएको केन हार्वेष्टर मेशिनबाट कटिंग र लोडिंग गर्दा किसानहरुलाई अनावश्यक रुपमा लाग्ने खर्चमा ७० रुपैया प्रति क्यून्टलको बचत हुने दाबी गरे ।
मिल्सले संचालनमा ल्याएको केन हार्वेष्टर मेशिन र ढुवानी गर्ने ट्रलीहरु व्यवस्थापन गरे वापत प्रति क्यून्टल १०० रुपैयाको दरले किसानको तौलबाट घटाउने र किसानलाई मिल्स गेट सम्म उुख पुर्याउने टेन्सन समाप्त भएको संचालक बाबराले बताए । विगतको बर्षहरुमा चिनी मिल्सहरुले उखु किसानलाई भुक्तानीको नाममा पटक पटक मिल्समा धाउने बाध्यता बनाउदै आएको तर बाबा बैजुनाथ सुगर एण्ड केमिकल मिल्सको स्थापना भए देखि नै प्रत्येक १५ दिनमा रकमको भुक्तानी दिदै आएको हुँदा मिल्स संग कुनै पनि किसानको रकम बक्यौता नरहेको तराई टप संग कुरा गर्दै उनले दाबी समेत उनले गरे ।
वागमतीको बगरमा करिव ५५ विगहा जग्गामा उखु खेती गरेको धर्मेन्द्र साहले मेशिनबाट उखु कटिंग गर्दा निकै खुशी भएको छ । सुरुमा विश्वास लागेन तर मेशिनद्धारा कटिंग एवं लोडिंग गरेको देख्दा निकै राम्रो र किसानहरुको लागि उपयोगी केन हार्वेष्टर मेशिन भएको जिकिर गरे । वागमतको वगरमा ५५ विगहा जग्गा लिजमा लिएर उखु खेती गरेपनि मिल्स सम्म पुर्याउने निकै झन्झटिलो प्रोसेसबाट गुज्रिनुपर्ने बाध्यता मेशिन आएपछि सकेकोमा खुशी व्यक्त गरे ।
मजदुर लेवरबाट उखुको कटिंग एवं ढुवानी गरेर मिल्स गेट सम्म पुर्याउदा १७० देखि १८० रुपैया प्रति क्यून्टल खर्च हुने गरेका थिए तर मेशिन आएपछि १०० रुपैयामा कटिंग एवं लोडिंग दुवै भई मिल्स सम्म पुग्ने गर्दा किसानलाई प्रति क्यून्टल ७० देखि ८० रुपैया सम्म बच्ने भएकोमा रौतहटको उखु किसानको केही हद सम्म पिडा कम भएको स्पष्ट पारे ।



