रौतहट, २५ असार । रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाई बजेट कार्यान्वयन प्रभावित बनाएको आरोप लगाउँदै स्थानीयवासीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पुतला दहन गरेका छन् ।
प्रधानमन्त्री बनेपछि शाहको मौलापुरमा पुतला दहन गरिएको यो पहिलो घटना भएको दाबी गरिएका हुन् ।
प्रदर्शनहरुले नगरपालिकालाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन बनाएर बजेट कार्यान्वयन रोकिएको, विकास निर्माणका योजना प्रभावित बनाएको तथा सेवा प्रवाह ठप्प जस्तै बनेको आरोप लगाए ।
प्रदर्शनका क्रममा उनीहरूले ‘मौलापुरको बजेट फ्रिज गराउने सरकार मुर्दाबाद’, ‘मौलापुरमा तत्काल हाकिम पठाऊ’, ‘सम्मानित अदालतको आदेश कार्यान्वयन गर’ लगायतका नाराबाजी गरेका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरे लामो समयदेखि कार्यस्थलमा अनुपस्थित रहदै आएको छ । उनलाई मन्त्रालयले फिर्ता बोलाएको बताइए पनि हालसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाउदा नगरपालिकामा प्रशासन नेतृत्व विहीन बनेको प्रदर्शनमा उत्रिएकाहरुको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत अभावका कारण विकास निर्माणका योजना, बजेट कार्यान्वयन, कर्मचारी तथा शिक्षकको तलब भुक्तानी, सामाजिक सुरक्षा तथा अन्य सेवा प्रभावित भएको स्थानीयको तिव्र गुनासो छ ।
करिब छ महिनादेखि तलब नपाएका नगर शिक्षकहरू यसअघि पेनडाउन आन्दोलन समेत गरेका थिए । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गतका गर्भवती तथा सुत्केरी लाभग्राहीले समेत भुक्तानी नपाएको जनाइएको छ । सरसफाइ कर्मचारीहरु तलब नपाएपछि काम छाड्दा नगरको सरसफाइ व्यवस्थापन समेत प्रभावित भएको बताइएको छ ।
स्थानीयले सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार निःशुल्क विद्युत् तथा खानेपानी कार्यक्रमको भुक्तानी रोक्न नपाइने व्यवस्था रहे पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा ती कार्यक्रम समेत अन्योलमा परेको हो ।
मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साहले संघीय सरकार जानाजानी प्रमुख प्रशासकीय अधिकृत नपठाई नगरपालिकालाई प्रशासनिक संकटमा धकेलेको आरोप लगाइन । बजेट कार्यान्वयनको संवेदनशील समयमा कर्मचारी रिक्त राखी बजेट फ्रिज गराउने नियतका साथ काम गरिएको उनले बालेन्द्र नेतृत्व सरकार माथि गम्भीर आरोप लगाइन् ।