रौतहट, ३२ असार । निरन्तर वर्षासँगै बागमती र लालबकैया नदीमा जलस्तर बढ्न थालेपछि सम्भावित बाढी जोखिमलाई मध्यनजर गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल नेतृत्वको सुरक्षा अधिकारीहरूको टोलीले नदी नियन्त्रण बाँध तथा निर्माणाधीन संरचनाको स्थलगत निरीक्षण गरेको छ ।
अनुगमनका क्रममा राजदेवी नगरपालिका–३ स्थित बागमती नदीको बाँधमा वर्षा र नदी कटानका कारण सामान्य क्षति पुगेको पाइएको हो । निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी भुसालले सम्बन्धित निकायलाई क्षतिग्रस्त भागको तत्काल मर्मत तथा आवश्यक संरक्षणका काम अघि बढाउन निर्देशन दिए ।
त्यसैगरी प्रजिअ नेतृत्वको टोलीले परोहा नगरपालिका–३ तेजापाकड स्थित लालबकैया नदीमा निर्माणाधीन स्पर (कटान नियन्त्रण संरचना) को समेत निरीक्षण गरे । निरीक्षणका क्रममा निर्माणको प्रगति, बाँधको अवस्था तथा सम्भावित जोखिमबारे सम्बन्धित प्राविधिक तथा सरोकारवाला सँग जानकारी लिए ।
जिल्ला प्रशासन कार्यालयले वर्षायाममा बाढी तथा नदी कटानबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि संवेदनशील क्षेत्रको नियमित अनुगमन, आवश्यक मर्मत तथा पूर्वतयारीलाई तीव्र बनाइएको जनाए । प्रशासनले नदी तटीय क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन र कुनै पनि विपद्को सूचना तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन पनि आग्रह गरेको छ ।
उक्त टोलीमा नारायण दल गणका कर्णेल विश्वास विष्ट, रौतहट प्रहरीका एसपी सीताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक कुमार बुढाथोकी सहितका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन