सर्लाही, ३ साउन । गौर आँखा अस्पताल पुरेनवाद्वारा सञ्चालित महाअभियान अन्तर्गत सर्लाहीको बरहथवा–६ स्थित सूर्योदय तारक माध्यमिक विद्यालयमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।
रुइट फाउन्डेसनको सहयोग तथा स्थानीय समाजसेवी रामचन्द्र महतोको समन्वयमा आयोजित शिविरबाट स्थानीय नागरिकहरु लाभान्वित भएको हो ।
गौर आँखा अस्पतालकी डा. विनिशा श्रेष्ठको नेतृत्वमा नेत्र अधिकृत बिनिता केसरी, दृष्टि विशेषज्ञ मदन चौधरी सहित ११ सदस्यीय स्वास्थ्य टोलीले सेवा प्रदान गरे । शिविरमा ३२६ जनाको आँखा परीक्षण गरिएकोमा ६३ जना मोतियाबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि छनोट गरियो । २३६ जनालाई निःशुल्क औषधि वितरण गरिएको अस्पतालले जनाए ।
अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेका अनुसार शल्यक्रियाका लागि छनोट भएका सबै बिरामीलाई अस्पतालकै खर्चमा गौर आँखा अस्पतालमा ल्याएर आजै देखि निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको छ ।
शिविरमा दातृ निकायका प्रतिनिधि श्री थापा र धन राईको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह भएको संयोजक पाण्डेले जानकारी दिए ।
कार्यक्रमको अनुगमनका क्रममा गौर आँखा अस्पतालका अध्यक्ष तथा नेपाल नेत्रज्योति संघ रौतहटका सभापति विजयकुमार सिंह र अस्पताल व्यवस्थापन समितिका सदस्य तथा नेपाल नेत्रज्योति संघ रौतहटका सचिव बच्चा प्रसाद यादवले सेवाको गुणस्तर, प्रभावकारिता र सेवाग्राहीको सन्तुष्टिबारे स्थलगत अवलोकन गरेका थिए ।
ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक सम्म गुणस्तरीय आँखा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको महाअभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने अस्पतालले जनाएको छ । यस अभियान अन्तर्गत साउन ६ गते रौतहटको बंकुलमा पनि निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन हुने जानकारी समेत पाण्डेले दिए ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन