सर्लाही, ५ साउन । सरकारले समयमा रासायनिक मल उपलब्ध गराउन नसक्दा सर्लाहीका दुई किसान दाजुभाइ भारतीय जेलमा पुगेका छन् ।
आफ्नै खेतमा रोपाइँ गर्न आवश्यक मल किन्न सीमापार भारत गएका बलरा नगरपालिका–५ का ५५ वर्षीय सुरेशप्रसाद सिंह र ६० वर्षीय नागेन्द्रप्रसाद सिंह ‘मल तस्करी’ गरेको आरोपमा पक्राउ परेपछि अहिले भारतको सीतामढी स्थित डुमरा जेल सम्म पुगेर कैदीबन्दीको जीवन व्यतित गर्न बाध्य भएका हुन् ।
दुवै दाजुभाई गएको असार १७ गते सीमापारी सीतामढी जिल्लाको सोनवर्षा बजारबाट दुई बोरा युरिया र ६ बोरा डीएपी मल साइकलमा बोकेर नेपाल फर्किने क्रममा भारतीय कृषि विभाग र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले पक्राउ गरेको थियो । प्रारम्भमा सोनवर्षा थानामा राखिएका उनीहरूलाई पछि डुमरा कारागार पठाइयो ।
पक्राउ परेको २० दिनभन्दा बढी समय बितिसक्दा पनि उनीहरू रिहा हुन सकेका छैनन् । परिवारका अनुसार अदालतले आवश्यक कागजात मागिसकेको भए पनि न्यायाधीश बिदामा रहेकाले मुद्दाको सुनुवाइ अघि बढ्न सकेको छैन । परिवार न्यायको आशामा अदालत धाइरहेको छ ।
दाजुभाइ जेलमा परेपछि घरको खेतीपाती नै ठप्प भएको छ । गाउँभरका खेतमा रोपाइँ सकिएर हरियाली छाएको बेला उनीहरूको साढे दुई बिघा खेत भने अझै बाँझै रहेको छ । खेती गर्ने मुख्य व्यक्ति जेलमा परेपछि परिवार अन्योलमा परेको छ ।
यस घटनाले नेपालमा हरेक वर्ष हुने रासायनिक मल अभावको समस्यालाई पुनः राज्यको कमजोरीलाई उजागर गरेको छ । सरकारी डिपोमा मल नपाएपछि सीमापारबाट मल ल्याउन बाध्य भएका किसान अहिले कानुनी झमेलामा परेर डुमरा कारागारमा कैदी जीवन व्यतित गर्न बाध्य छन् ।
भारतमा किसानलाई अनुदानमा उपलब्ध गराइने मल फर्टिलाइजर कन्ट्रोल अर्डर (एफसीओ) र अत्यावश्यक वस्तु ऐन, १९५५ अन्तर्गत नियन्त्रित भएकाले अनुमति बिना देशबाहिर लैजान कानुनी प्रतिबन्ध रहेका हुन् ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराइसकिएको र भारतीय पक्षसँग समन्वय भइरहेको बताए । उनका अनुसार भारतीय अधिकारीहरूले अनुदानमा वितरण हुने मल सीमापार लैजान नपाइने नीति अनुसार कारबाही गरिएको जानकारी दिए । समयमै मल उपलब्ध गराउन नसक्दा सुरु भएको समस्या अहिले कानुनी, कूटनीतिक र मानवीय संकटमा रूपान्तरण भएको छ । किसानका खेत बाँझिएका छन्, परिवार पीडामा छ, तर जिम्मेवार निकायबाट समाधानको ठोस पहल अझै देखिएको छैन ।
नेपाल सरकार प्रत्येब बर्ष असार १५ लाई धान दिवस मनाउने गर्दछ तर धान रोपाई गर्ने समयमा चाहिने रासायनिक मलखाद्यको उचित व्यवस्थापन गर्न नसक्ने, किसानहरु जोखिम मोलेर सीमापारी भारतीय बजारमा आश्रित रहदा उनीहरु पक्राउ परेपनि राज्यद्धारा कटनीतिक पहल नगर्दा किसान जेलमै बस्नु पर्दा किसानको सरकार प्रति विश्वास घट्दै जानु स्वभाविक रहेको महसुस गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन