रौतहट, ५ साउन । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा रहेका बहुमूल्य खयरका रुख अवैध रूपमा काटिएको घटना सञ्चार माध्यममा सार्वजनिक भएपछि मात्रै डिभिजन वन कार्यालय रौतहट बल्ल जाग्यो र सक्रिय बनेको पाइएको छ ।
अवैध कटानबारे सूचना सार्वजनिक भएपछि डिभिजनल वन अधिकृत मनोज ठाकुरको नेतृत्वमा सोमबार घटनास्थलको स्थलगत निरीक्षण गरिएको कार्यालयले जनाएको हो । निरीक्षणका क्रममा डमरु बनाउन प्रयोग हुने आकारका १२ थान खयर काठ (१०.७० क्युबिक फिट) बरामद गरिएको बताइएको छ ।
डिभिजन वन कार्यालयका अनुसार तस्करहरूले अवैध रूपमा काटिएका खयरका अधिकांश काठ घटनास्थलबाट लगिसकेका थिए । निरीक्षणका क्रममा बाँकी रहेको काठ मात्रै फेला परे ।
घटनापछि डिभिजनल वन अधिकृत ठाकुरले अवैध कटान तथा तस्करीमा संलग्न व्यक्तिको पहिचान गरेर कानुनी प्रक्रिया अघि बढाउन गैडाटार सब–डिभिजन वन कार्यालयका कर्मचारी तथा शान्ति सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई निर्देशन दिए ।
यता, स्थानीयवासीले भने सामुदायिक वन क्षेत्रमा लामो समयदेखि बहुमूल्य खयरका रुख अवैध रूपमा काटेर तस्करी हुँदै आए पनि उपभोक्ता समूह र सम्बन्धित निकायले प्रभावकारी निगरानी गर्न नसकेको आरोप लगाए । उनीहरूका अनुसार सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि मात्रै वन कार्यालय घटनास्थलमा पुगेर अनुगमन गरे ।
डिभिजन वन कार्यालयले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाइएको जनाउँदै दोषीमाथि वन ऐनअनुसार कानुनी कारबाही गरिने चेतावनी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन