रौतहट, ७ साउन । भारतको बिहार सरकारले जानकी माताको मन्दीर भएका पुनौरा धामलाई विश्वस्तरीय धार्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना अघि बढाएको छ ।
यसका लागि भारत सरकारले ‘सीता करिडोर’ निर्माण गर्ने निर्णय गर्दै मन्दिर सिलान्यास समितिलाई ५०.८९ एकड जग्गा निःशुल्क हस्तान्तरण गर्ने घोषणा गरेको हो ।
पुनौरा धामलाई अयोध्याको श्रीराम मन्दिर र काशी विश्वनाथ धामको मोडलमा अत्याधुनिक धार्मिक गन्तव्यका रूपमा विकास गरिने जनाइएको छ । परियोजनाको उद्देश्य श्रद्धालु तथा पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सुविधा उपलब्ध गराउनुका साथै धार्मिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउनु रहेको छ ।
प्रस्तावित सीता करिडोर अन्तर्गत मन्दिर परिसरको सौन्दर्यीकरण, फराकिला सडक, आधुनिक पार्किङ, यात्रु सेवा केन्द्र, धर्मशाला, होटल, हरित क्षेत्र, डिजिटल सूचना प्रणाली तथा अन्य आवश्यक पर्यटन पूर्वाधार निर्माण गरिनेछ ।
सरकारले यसलाई धार्मिक आस्था सँगै सांस्कृतिक संरक्षण र पर्यटन विकासको महत्वपूर्ण परियोजनाका रूपमा अघि सारेको जनाए । यो परियोजनाले रामायण सर्किटलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
अयोध्या, नेपालको जनकपुरधाम र सीतामढीको पुनौरा धामलाई जोड्ने धार्मिक यात्रा थप सहज, व्यवस्थित र आकर्षक बन्ने अपेक्षा गरिएको छ । यसबाट भारत र नेपाल सहित विश्वभरका श्रद्धालु तथा पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ ।
पर्यटन क्षेत्रका जानकारहरूका अनुसार सीता करिडोर निर्माण सँगै धार्मिक पर्यटनमा ठूलो वृद्धि हुनेछ । यसले होटल, यातायात, हस्तकला, स्थानीय व्यापार तथा पर्यटनमा आधारित रोजगारीका नयाँ अवसर सिर्जना गर्दै सीतामढी जिल्लाको स्थानीय अर्थतन्त्रलाई नयाँ गति पुग्ने अपेक्षा गरिएको छ ।
बिहार सरकारको यस प्रकारको पहलले धार्मिक पर्यटन प्रवद्र्धन, सांस्कृतिक सम्पदाको संरक्षण तथा रामायण सभ्यतालाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन