नयाँ दिल्ली, ८ साउन । सामाजिक अभियन्ता सोनम वाङचुकले २६ औं दिन अर्थात विहिवार राति आमरण अनसन अन्त्य गरे ।
गएराति गुरुग्राम स्थित मेदान्ता अस्पतालमा भारतका केन्द्रीय मन्त्री जेपी नड्डा र डा. जितेन्द्र सिंह सहित लद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा उनले जुस खाएर अनशन तोडेको हो ।
सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिँदै सामाजिक अभियन्ता वाङचुकले २६ दिनपछि आफ्नो उपवास समाप्त गरेको बताए । उनले विभिन्न राजनीतिक दलका ६५ सांसदले प्रत्यक्ष भेट वा पत्र मार्फत अनसन अन्त्य गर्न आग्रह गरेको उल्लेख गर्दै लामो छलफल, केही सहमतिका सर्त तथा देशमा सम्भावित हिंसात्मक अवस्थालाई रोक्ने उद्देश्यले यो निर्णय लिएको स्पष्ट पारे ।
आफूले सरकार सँग भएका सहमतिका सर्तहरू बारे छिट्टै छुट्टै भिडियो मार्फत सार्वजनिक गर्ने जानकारी दिँदै देशभर कुनै पनि प्रकारको हिंसा हुन नदिन सबैलाई संयमित र सतर्क रहन अपिल गरे ।
यता, वाङचुकले अनशन तोडेपछि विभिन्न क्षेत्रबाट स्वागत गरिएको छ । ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले वाङचुकको साहस र त्यागको प्रशंसा गर्दै उनको जीवन देशका लागि अमूल्य रहेको बताए । उनले आन्दोलनका माग पूरा नभए सम्म पार्टीको शान्तिपूर्ण आन्दोलन जारी रहने पनि जनाए ।
यसैबीच, वाङचुकको आन्दोलनका क्रममा विद्यार्थीहरू माथि प्रहरीले गरेको व्यवहारलाई लिएर भारतीय जनता पार्टी (भाजपा) भित्रैबाट पनि प्रश्न उठ्न थालेका छन् ।
पूर्व केन्द्रीय शिक्षा मन्त्री तथा भाजपा वरिष्ठ नेता मुरली मनोहर जोशीले आन्दोलनरत विद्यार्थीका माग र चिन्ताहरू वास्तविक रहेको उल्लेख गर्दै बल प्रयोगको सट्टा सहानुभूतिपूर्ण संवादमार्फत समाधान खोज्न सरकारलाई आग्रह गरे । विशेषगरी महिला प्रदर्शनकारीमाथि भएको बल प्रयोगले आफू अत्यन्त दुःखी भएको उनले बताए ।
अभियन्ता वाङचुकले अनशन अन्त्य गरेसँगै लद्दाखसँग सम्बन्धित आन्दोलन नयाँ चरणमा प्रवेश गरेको विश्लेषण गरिएको छ भने सरकार र आन्दोलनकारीबीचको आगामी वार्ताले यसको भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन